जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राधिकरणको एक कर्मचारीको सेवा प्रवाह ९४५ जना ग्राहकमा

जलसरोकार
सोमबार, भदौ ०३, २०८१ | १६:४९:३८ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका एकजना कर्मचारीले प्रतिवर्ष ९४५ जना ग्राहकलाई सेवा पु¥याउने गरेको पाइएको छ । 
प्राधिकरणको ग्राहक संख्या वृद्धि हुँदा प्रतिकर्मचारी वृद्धि बढ्न पुगेको हो । 
आर्थिक वर्ष २०७९/८० मा निर्देशनालय अन्तर्गतका प्रतिकर्मचारीले ८८९ जना ग्राहकको सेवा गरेकोमा गत वर्ष २०८/८१ मा प्रतिकर्मचारी ग्राहक संख्या ९४५ पुगेको हो । 
यो निर्देशनालय अन्तर्गत एक सय २९ वितरण केन्द्र छन् । सामुदायिक तथा ग्रामीण विद्युतीकरणका ४ लाख ७५ हजार ५ सय ३९ ग्राहकसमेत गरी प्राधिकरणको ग्राहक संख्या गत वर्ष ५९ लाख ३४ हजार ८ सय १४ पुगेको थियो । गत वर्ष ग्राहक संख्यामा ५.०८ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष प्राधिकरणको कुल ग्राहक संख्या ५६ लाख ४८ हजार ४२ थियो । 
गत वर्ष यो निर्देशनालायले १ करोड २ लाख २७ हजार ५३ मेगावाट घण्टा बिजुली बेचेको थियो । यो अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो । 
यसैगरी निर्देशनालयले गत वर्ष ९९ अर्ब ६३ करोड रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षो तुलनामा १०.१४ प्रतिशतले बढी हो । 
प्राधिकरणले कुल बक्यौतामध्ये  ९५ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ९.७८ प्रतिशतले बढी छ ।
यसैगरी निर्देशनालय अन्तर्गत वितरित विद्युतमा चुहावट जम्मा ९.५९ प्रतिशत रहेको छ । निर्देशनालय मातहतका कार्यालयमध्ये सबैभन्दा बढी चुहावट मधेस प्रदेशमा रहेको छ । वितरित विद्युतमा मधेस प्रदेशको चुहावट ३५.५६ रहेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा छ ।
प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष २०८०/८१ मा प्रतिग्राहक विद्युत् विक्री १८७३.३४ युनिट पुगेको थियो । यो अघिल्लो वर्ष १८२३ युनिट थियो । 
त्यसैगरी प्राधिकरणले एकजना ग्राहकबाट प्रतिवर्ष १८ हजार दुई सय ५० रुपैयाँ आय संकलन गरेको छ  यस्तो आय अघिल्लो वर्ष १६ हजार १६ रुपैयाँ थियो । 
प्रतिगार्हस्थ्य ग्राहकले वार्षिक ८६२ युनिट खपत गरेका थिए । यस्तो खपत अघिल्ले वर्ष ८२२ युनिट थियो । 
यसैगरी प्रतिगार्हस्थ्य ग्राहकबाट प्राधिकरणले गत वर्ष ७ हजार ६ सय ८७ रुपैयाँ संकलन गरेको थियो । यो रकम अघिल्लो वर्ष ७ हजार २ सय १८ रुपैयाँ थियो । 
प्राधिकरणको यो निर्देशनालयले वितरण गर्ने बिजुलीको मर्मत सम्भार खर्च प्रतियुनिट एक रुपैयाँ १५ पैसा पर्ने तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्ष प्रतियुनिट मर्मत खर्च एक रुपैयाँ ७२ पैसा थियो । 
प्राधिकरणले गत वर्ष १० अर्ब २२ करोड युनिट बेचेको थियो । यसअनुसार उसको वितरणतर्फको मर्मत खर्च मात्रै ११ अर्ब ७६ करोड रुपैयाँ पर्न आएको छ । 
गत वर्ष प्राधिकरणका प्रतियुनिट औसत आय पनि वृद्धि भएको छ । आव २०८०/८१ मा प्रतियुनिट औसत आय ९ रुपैयाँ ७४ पैसा थियो भने अघिल्लो वर्ष ९ रुपैयाँ ६६ पैसा थियो । 
 

 

प्रकाशित मिति : सोमबार, भदौ ०३, २०८१ | १६:४९:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया