ओलीलाई वरिष्ठ अधिवक्ता दाहालका ११ सुझाव : ‘सच्चिनुस्, नत्र पार्टी झन् कमजोर हुन्छ’
जलसरोकार
काठमाडौं : वरिष्ठ अधिवक्ता बाबुराम दाहालले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाईपार्टी सुधारका लागि ११ बुँदे सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले झापा–५ बाट ओली पराजित हुनु र समग्र पार्टीले निर्वाचनमा धक्का खानु दुःखद भएको बताएका छन्।
दाहालले आफू २०३४ सालदेखि पार्टीमा निरन्तर आबद्ध रहेको उल्लेख गर्दै ओली प्रधानमन्त्री भएका बेला २०७६ कात्तिक २९ देखि २०७८ असार २८ सम्म सल्लाहकार समूहमा (अबैतनिक) रहेर इमान्दारीपूर्वक काम गरेको स्मरण गराएका छन्। त्यसपछि भने आफूले ओलीलाई भेट्ने प्रयास नगरेको र भेट पनि नभएको उनले उल्लेख गरेका छन्।
राजनीतिमा जीत–हार सामान्य भए पनि अहिले पार्टी छोड्ने क्रम नभई मत मात्रै यताउता भएको दाबी गर्दै उनले उचित कदम चालिए पार्टी पुनः सुदृढ हुन सक्ने बताएका छन्।
फेसबुक पोस्टमा दाहालले अध्यक्ष ओलीलाई लक्षित गर्दै ११ बुँदे सुझाव दिएका छन्। उनका अनुसार अध्यक्ष ओली वरिपरि रहेका व्यक्तिहरूमध्ये उनकी धर्मपत्नी राधिका शाक्यबाहेक अन्य कोही पनि शतप्रतिशत विश्वसनीय नभएको दाबी गरेका छन्।
उनले ओली वरिपरि विभिन्न पदमा रहेका केही व्यक्तिलाई ‘दुष्ट, असहिष्णु र मानवीय गुण कम भएका’ भन्दै त्यस्ता व्यक्तिलाई तत्काल जिम्मेवारीबाट हटाउन आग्रह गरेका छन्।
त्यस्तै, पार्टीको विशेष महाधिवेशन बोलाएर आधाभन्दा बढी काम नलाग्ने केन्द्रीय पदाधिकारी र सदस्यहरू परिवर्तन गर्नुपर्ने उनले सुझाव दिएका छन्। उनका अनुसार नेतृत्वमा आफ्ना ‘पिठ्ठू’ नभई आँखा जुधाएर कुरा गर्न सक्ने योग्य व्यक्तिहरूलाई ल्याइनु आवश्यक छ।
दाहालले केन्द्रदेखि देशभरका पार्टी कार्यालय कार्यकर्तामुखी बनाउनुपर्ने, हाकिम शैली देखाउने व्यक्तिलाई नेता नबनाउनुपर्ने पनि बताएका छन्। साथै, नेताहरूले सार्वजनिक रूपमा गालीगलौज नगर्ने र रूखो व्यवहार गर्ने व्यक्तिलाई जिम्मेवारीबाट हटाउनुपर्ने उनको सुझाव छ।
उनले राति अबेरसम्म चाप्लुसी गर्न आउने व्यक्तिहरूसँग भेटघाट नगर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। विभिन्न भूगोल, सञ्चार र कानुन क्षेत्रको जिम्मेवारी त्यही क्षेत्रका पार्टी सदस्यहरूले मन नपराउने व्यक्तिलाई दिइएको भन्दै त्यसलाई पनि तत्काल परिवर्तन गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
दाहालले पार्टी नेतृत्व र कार्यकर्ताबीच तालमेलको अभाव रहेको टिप्पणी गर्दै माथिबाट निर्णय ‘इम्पोज’ गर्ने शैली अन्त्य गरी पार्टी विधानअनुसार स्वतन्त्र निर्वाचनबाट नेतृत्व चयन हुने सुनिश्चितता गर्नुपर्ने बताएका छन्।
उनका अनुसार एशियामै व्यवस्थित संगठन मानिने एमाले अहिले नेतृत्व शैलीका कारण कमजोर भएको संकेत देखिएको छ। पार्टीका एजेण्टहरूबाट समेत मत फेरिएको जस्तो अवस्था देखिएको उनको दाबी छ।
पार्टीका नाममा फाइदा लिने समूहले जनतालाई भोट नदिएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्न थालेको भन्दै उनले त्यसलाई रोक्न नेतृत्वलाई आग्रह गरेका छन्।
अन्त्यमा उनले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईंको नाम जपेर चाप्लुसी गर्नेहरूले मेरो सुझाव मन नपर्ला। तर उनीहरूले तपाईंलाई भड्खारोमा हाल्दैछन्। प्रिय युवा जोश भएका अध्यक्षज्यू, कि सच्चिनुस्, नत्र अझै कमजोर हुँदै जानुस्—पार्टी पनि कमजोर हुन्छ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने