बाढीबाट क्षति पुगेका जलविद्युत्काे वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न नेप्सेलाई सेबोनकाे निर्देशन
जलसरोकार
काठमाडौं : त्रिशूली र भोटेकोशी नदी प्रणालीमा आएको भीषण बाढीबाट जलविद्युत् आयोजना तथा पूर्वाधारमा ठूलो क्षति पुगेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावित कम्पनीको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छ।
सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै बाढीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित सूचीकृत कम्पनीको विवरण संकलन गरी बोर्डलाई उपलब्ध गराउन तथा लगानीकर्तालाई आवश्यक सूचना सार्वजनिक गर्न भनेको हो।
बोर्डले प्रभावित आयोजनाको भौतिक क्षति, विद्युत् उत्पादनमा परेको असर, उत्पादन क्षमता घटेको अवस्था, मानव संसाधनमा भएको क्षति, प्रसारण तथा वितरण संरचनाको अवस्था र प्रारम्भिक वित्तीय प्रभाव सार्वजनिक गर्न निर्देशन दिएको छ।
त्यस्तै, आयोजनाको बीमा तथा बीमा दाबीको अवस्था, आयोजना पुनः सञ्चालनमा आउन सक्ने अनुमानित समय, बैंक ऋणको साँवा–ब्याज भुक्तानी क्षमतामा पर्न सक्ने प्रभाव र विपद्पछि कम्पनी व्यवस्थापनले चालेका कदमबारे समेत लगानीकर्तालाई जानकारी गराउनुपर्नेछ।
अस्वाभाविक सेयर कारोबारमाथि कडा निगरानी
बाढीबाट प्रभावित कम्पनीको सेयर मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई समेत सेबोनले प्राथमिकतामा राखेको छ। नेप्सेलाई प्रभावित कम्पनीको अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण तथा शङ्कास्पद खरिद–बिक्री आदेशमाथि विशेष निगरानी राख्न निर्देशन दिइएको छ।
महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि वा भएपछि हुने असामान्य कारोबार तथा भित्री सूचनाको दुरुपयोग हुन सक्ने गतिविधिमाथि समेत निगरानी बढाउन बोर्डले भनेको छ।
भविष्यका विपद्का लागि छुट्टै कार्यविधि
सेबोनले प्राकृतिक विपद्, आगलागी, भूकम्प वा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्ने असरलाई सम्बोधन गर्न सूचना प्रवाह, कारोबार रोक्का तथा पुनः सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाउनसमेत नेप्सेलाई निर्देशन दिएको छ।
बाढीबाट जलविद्युत् आयोजनाको उत्पादन तथा भौतिक संरचनामा परेको क्षतिको प्रत्यक्ष असर कम्पनीको आम्दानी, वित्तीय अवस्था र ऋण भुक्तानी क्षमतामा पर्न सक्ने भएकाले लगानीकर्तालाई यथार्थ सूचना उपलब्ध गराउन सेबोनले यस्तो कदम चालेको हो।
बोर्डले निर्देशन कार्यान्वयनको प्रगति र बजारमा देखिएका असामान्य गतिविधिको विवरण नियमित रूपमा उपलब्ध गराउनसमेत नेप्सेलाई भनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीबाट क्षति पुगेका जलविद्युत्काे वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न नेप्सेलाई सेबोनकाे निर्देशन
-
टिमुरेमा नदी तथा बाढी निगरानीका लागि रियल–टाइम सीसी क्यामेरा जडान
-
देशभर वर्षाको सम्भावना, पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने
-
त्रिशूली-३ ए, रसुवागढीसहित जलविद्युत् आयोजनामा फसेकाको उद्धारमा आयोजनाकै संरचना उपयोग गर्न भट्टराईको सुझाव
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई