जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आजदेखि साञ्जेन जलविद्युत् (४२.५ मेगावाट) पूर्ण क्षमतामा सञ्चालन हुँदै

प्राविधिक परीक्षण सफल भई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध

जलसरोकार
शनिबार, मंसिर ०८, २०८१ | ०७:३२:२६ बजे

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो-५ मा निर्माणाधीन सान्जेन जलविद्युत आयोजना (४२.५ मेगावाट) आजदेखि पूर्ण क्षमतामा उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

 उक्त आयोजनाको सम्पूर्ण   प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ ।

कम्पनीका  प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार आयोजनाको बाँकी दुई युनिटको परीक्षण समेत मिति आज शनिबार सम्पन्न गरी कूल जडित क्षमता अनुरुपकै विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ ।

क्यास्केड मोडलमा निर्माण गरिएका पिकिङ्ग रन अफ दि रिभर  दुई आयोजना मध्ये सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले २०८० भाद्र मसान्त मै सम्पन्न गरी २०८० साल असोज २१ गतेबाट ११ के.भी. कन्टिन्जेन्सी प्रसारण लाइन मार्फत व्यापारीक उत्पादन गरिरहेको छ ।  

उक्त आयोजनाको विद्युत प्रवाहको लागि कम्पनी आफैले ८ किलोमिटर ११ केभि डवल सर्किट प्रसारण लाइन तथा १३२/११ के भि सवस्टेशन तत्काल निर्माण कार्य सम्पन्न गरी चिलिमे त्रिशुली ६६ के भि प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण  करिव ८.५ मे वा विद्युत वैकल्पिक रुपमा विक्री गरी हाल सम्म करीब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको छ ।

सान्जेन तथा सान्जेन (माथिल्लो) दुबै आयोजनाहरुको निर्माणकालमा आएको २०७२ सालको महा-भुकम्प, कोभिड -१९, नाकावन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायतका विविध अवरोधहरुले आयोजना निर्धारित समयमा सम्पन्न हुन नसके पनि हालै चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाइन सम्पन्न हुने बित्तिकै आयोजनाहरुबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको  कम्पनीले जनाएको छ ।

नेपालमा निर्माणाधिन पिकिङ्ग रन अफ दि रिभर आयोजना मध्ये नमूना आयोजना रहेको कम्पनीले जनाएको छ । सान्जेन माथिल्लो जलविद्युत आयोजनाको हेडवर्क्समा करिब  ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने  पिकिङ्ग पोखरीको निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप विजुली उत्पादन गरि राष्ट्रिय विद्युत प्रणाली उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिंहले बताए ।

उक्त पिकिङ्ग पोखरीका कारण आयोजना मर्मत सम्भार गर्न  र इमर्जेन्सी व्रेकडाउनमा समेत पावरहाउस सञ्चालन गर्न सकिने उनले बताए ।

नेपालमा भएका क्यासकेड आयोजना मध्ये ईडीभी (एकल उपकरण प्रयोग गरी ताप र शीतलन प्रणालीमा ऊर्जा खपतको सही मापन र निगरानी गरिने उपकरण) जडान गरी सान्जेन  माथिल्लो आयोजना मर्मत सम्भार गर्दा पनि  तल्लो आयोजना निरन्तर विद्युत उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनी सचिव घनश्याम श्रेष्ठले बताए ।

नेपालमै नमूना प्रविधिको रुपमा पहिलो पटक जडान गरिएको उक्त प्रविधी आगामी दिनमा अन्य क्यासकेड आयोजनाहरुले जडान गरी क्यासकेडको तल्लो आयोजना माथि माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए ।

उक्त  जर्मनीमा निर्माण भएको ईडीभीको कारण कम्पनीलाइ आयोजना मर्मत सम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रुपमा ठुलो राहत दिने कुरा समेत श्रेष्ठले जानकारी दए ।

'सोही विशेषताका कारण काठमाण्डौ विश्वविद्यालयले उक्त आयोजनाको मोडल  आफ्नो प्रयोगशालामा मोडेल आयोजनाको रुपमा सञ्चालन गरेको छ,' उनले भने ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनाहरुमध्ये यो नमुना आयोजना रहेकोले जलविद्युत विकास, नविकरणीय उर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत् विधार्थीहरुको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागि समेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठले बताए ।

सान्जेन (माथिल्लो) जलविद्युत आयोजनको सिभिल निर्माण कार्य ECI-Bajraguru CPL J/V, इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्व कै ठूलो टर्वाइन निर्माणकर्ता मध्ये चिनियाँ कम्पनी Dongfang Eletric Corporation ले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण कार्य स्वदेशी कम्पनि  Nepal Hydro Electric Ltd ले गरेको हो ।

कम्पनीवाट निर्माणाधिन ४२.५ मे. वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको समेत सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ मंसिर ७ गते देखि परिक्षण उत्पादन शुरु गरिएको छ भने सवै युनिटको परीक्षण आज शनिबार सम्पन्न गरी ४२.५ मे. वा. विद्युत  राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत सिहले बताए ।

यसवाट हिउँद महिनामा हुने प्रणालीको असन्तुलन केहि हदसम्म समाधान गर्न मद्दत पुग्ने देखिएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ०८, २०८१ | ०७:३२:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया