सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भोलि, २५.१२ गुणा बढी आवेदन

जलसरोकार
बुधबार, फागुन १३, २०८२ | १५:४४:५१ बजे

 

काठमाडौं : रिजलाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँट भोलि गर्ने भएको छ। कम्पनीले फागुन ११ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार आईपीओमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ। कुल २६ लाख ६४ हजार ७१२ आवेदकबाट २ करोड ९६ लाख ३७ हजार ३०० कित्ता शेयर माग गरिएको थियो। उक्त माग जारी परिमाणको २५.१२ गुणा बढी रहेको हो, जसले जलविद्युत् क्षेत्रप्रति लगानीकर्ताको चासो अझै उच्च रहेको संकेत गरेको छ।

कम्पनीको जारी पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ, जसको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ११ लाख ८५ हजार कित्ता शेयर यसअघि नै गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिसकिएको छ।

त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको १४ लाख २२ हजार कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ४२ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। कम्पनीका कर्मचारीका लागि २ प्रतिशत अर्थात २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ७१ हजार १०० कित्ता शेयर आरक्षित गरिएको थियो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको थियो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले कम्पनीको इस्यूअर रेटिङ्ग ‘केयर–एनपी बीबी–’ बाट ‘केयर–एनपी बीबी’ मा स्तरोन्नति गरेको छ। दीर्घकालीन बैंक सुविधा सम्बन्धी रेटिङ्ग पनि ‘बीबी–’ बाट ‘बीबी’ मा उकासिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

वि.सं. २०७४ पुस १३ गते स्थापना भएको रिजलाइन इनर्जी लिमिटेडले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना विकास गरिरहेको छ। ‘बुट’ (Build, Own, Operate and Transfer) मोडेलमा निर्माण भइरहेको उक्त आयोजना गोरखा जिल्लाको अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको नेपालहर क्षेत्रस्थित छ। कम्पनीको केन्द्रीय कार्यालय पुरानो बानेश्वर, काठमाडौंमा रहेको छ।

उल्लेख्य रूपमा बढी आवेदन र स्तरोन्नत क्रेडिट रेटिङ्गले कम्पनीप्रति लगानीकर्ताको विश्वास बलियो रहेको देखिएको छ। अब भोलि हुने बाँडफाँटपछि कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भई कारोबारमा आउने तयारी अघि बढ्नेछ।

 

प्रकाशित मिति : बुधबार, फागुन १३, २०८२ | १५:४४:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया