रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १८ हजार आवेदकले पाए १०–१० कित्ता
जलसरोकार
काठमाडौं : रिजलाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले २०८२ माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीको जारी पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ, जसको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यसमध्ये १० प्रतिशत अर्थात ११ लाख ८५ हजार कित्ता शेयर गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिसकिएको थियो।
सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको १४ लाख २२ हजार कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ४२ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यस्तै, २ प्रतिशत अर्थात २८ हजार ४४० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको थियो। बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
आईपीओमा कुल २५ लाख ३७ हजार ३०१ वटा योग्य आवेदनमार्फत २ करोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर माग गरिएको थियो। यसमध्ये ४० हजार ५१८ आवेदन ४ लाख ६७ हजार ९० कित्ताका लागि अयोग्य ठहरिएका थिए। माग जारी परिमाणको धेरै गुणा बढी परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।
बाँडफाँट नतिजाअनुसार १ लाख १८ हजार २६ आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँट नतिजा सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, मेरो शेयर तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले रिजलाइन इनर्जी लिमिटेडको इस्यूअर रेटिङ ‘CARE-NP BB- (Is)’ बाट ‘CARE-NP BB (Is)’ मा स्तरोन्नति गरेको छ। दीर्घकालीन बैंक सुविधा सम्बन्धी रेटिङ पनि ‘BB-’ बाट ‘BB’ मा उकासिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
वि.सं. २०७४ पुस १३ गते स्थापना भएको रिजलाइन इनर्जी लिमिटेडले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना विकास गरिरहेको छ। ‘बुट’ (Build, Own, Operate and Transfer) मोडेलमा निर्माण भइरहेको उक्त आयोजना गोरखा जिल्लाको अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको नेपालहर गाउँपालिका क्षेत्रमा अवस्थित छ। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको पुरानो बानेश्वरमा रहेको छ।
उल्लेख्य संख्यामा आवेदन परेपछि रिजलाइन इनर्जीको आईपीओले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको चासो अझै उच्च रहेको संकेत दिएको छ। अब कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भई कारोबारमा आउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
-
तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो