सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | ०९:३३:१५ बजे

 

मुस्ताङ : रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात ह्वात्तै बढेको छ । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट पछिल्लो १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ ।

लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनबाट मालवस्तु तथा विद्युतीय सवारीसाधनको आयात कोरलानाकातर्फ मोडिएको हो । भन्सार प्रमुख विदुर चुडालका अनुसार भदौ १० गते रसुवागढी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तु आयातको क्रम निरन्तर बढिरहेको छ ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ गतेपछि दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन भइरहेको भन्सार प्रमुख चुडालले जानकारी दिए ।

शुक्रबार ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको जाँचपास गरिएको भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका मालवस्तु, कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भइसकेको छ । भदौ ९ गतेसम्म भने कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए ।

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि छोटो अवधिमै कोरलानाकामा आयातको चाप बढेको हो । यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला रहने गरेको कोरलानाका तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो । सो वर्ष आयाततर्फ रु १४ अर्ब ४१ करोड र निर्याततर्फ रु २० करोड ५० लाख बराबरको कारोबार भएको थियो ।

गत आर्थिक वर्षमा कोरलानाका हुँदै एक हजार ८७३ कन्टेनर र तीन हजार २२३ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

रसुवागढी–केरुङ नाका बन्द भएपछि उत्तरी चीनसँगको व्यापारिक आवागमनको ठूलो हिस्सा अहिले कोरलानाकातर्फ सरेको छ । यसको प्रत्यक्ष प्रभाव भन्सार राजस्वमा देखिएको छ भने नाकामा कन्टेनर र विद्युतीय सवारीसाधनको चापसमेत तीव्र रूपमा बढेको छ ।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | ०९:३३:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया