सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कोरलाबाट २० दिनमै साढे दुई अर्बकाे राजस्व सङ्कलन

जलसरोकार
बुधबार, असोज ०७, २०८३ | १५:०६:१५ बजे

 

मुस्ताङ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग बनेको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले २० दिनमै रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ।

भदौ १० गतेपछि कोरलानाका हुँदै नेपाल भित्रिएका मालवस्तु तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट उक्त राजस्व सङ्कलन भएको हो। रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने अधिकांश मालवस्तु, विद्युतीय सवारीसाधन तथा कन्टेनरले आफ्नो रुट परिवर्तन गरी कोरलानाका प्रयोग गरेका छन्।

लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाका हुँदै आएका ५६४ कन्टेनर र एक हजार ९० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ।

भन्सार प्रमुख चुडालले केरुङबाट रुट परिवर्तन भएर आएका तथा कोरलानाकाबाट नियमित रूपमा पैठारी हुने मालवस्तुबाट छोटो अवधिमै उल्लेख्य राजस्व सङ्कलन भएको बताए । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी दुवै बन्द अवस्थामा रहेपछि कोरलानाका चीनबाट हुने आयातका लागि एकमात्र वैकल्पिक मार्ग बनेको छ।

रसुवागढी नाका बन्द हुनुअघि चालु आर्थिक वर्षको साउनदेखि भदौ ९ गतेसम्म भने मुस्ताङ भन्सार कार्यालयले जम्मा रु ५३ लाख राजस्व सङ्कलन गरेको थियो। उक्त ४० दिनको अवधिमा कोरलानाका हुँदै १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवस्तुका कन्टेनर नेपाल भित्रिएका थिए।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै कुल रु तीन अर्ब सात करोड ९३ लाख राजस्व सङ्कलन भएको छ। साउनमा रु २६ करोड ३९ लाख सङ्कलन भएकोमा भदौमा भने रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व उठेको हो।

साउनमा कोरलानाका हुँदै १०० वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिँदा रु १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो। त्यस्तै भदौमा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन भित्रिँदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

मालवस्तुका कन्टेनरतर्फ साउनमा ५७ वटा र भदौमा ६९७ वटा कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए।

गत आर्थिक वर्ष २०८२/८३ को १२ महिनामा मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो। उक्त वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए।

 

 

प्रकाशित मिति : बुधबार, असोज ०७, २०८३ | १५:०६:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया