सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारमा अर्को आशा : टेलरेसबाट ठूलो मात्रामा सफा पानी बाहिरियो, लेदो पनि सुक्दै

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | १३:२६:५२ बजे
चिलिमेको सुरुङतर्फ उद्धार सामग्री र जनशक्ति लैजान रोपवे निर्माणका लागि नेपाली सेना र उद्धार टोलीले चट्टानी भीरमा ‘टुचिन’ जडानको काम गर्दै। दुर्गम र जोखिमपूर्ण भूगोलका कारण उद्धार सामग्री लैजान रोपवे निर्माणलाई प्राथमिकता दिइएको छ। तस्वीर : नेपाली सेना।

रसुवा : चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको खोजी तथा उद्धारका क्रममा टेलरेस सुरुङबाट ठूलो मात्रामा सफा पानी बाहिरिएपछि उद्धारमा नयाँ आशा थपिएको छ। पानीको बहाव घटेसँगै सुरुङभित्रको लेदोसमेत केही सुक्न थालेको जनाइएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार, टेलरेसबाट ठूलो मात्रामा सफा पानी बाहिरिसकेको छ। त्यससँगै सुरुङभित्र रहेको लेदोको मात्रा पनि केही घटेको उनले बताएका छन्।

महर्जनका अनुसार बाहिरबाट हेर्दा उद्धार टोलीले ठूलो दूरी पार गरेको नदेखिए पनि सुरुङभित्रको लेदो तथा अवरोधको परिमाण भने क्रमशः घटिरहेको छ।

उनले भनेका छन्, “यद्यपि ठूलो दूरी पार गरेको जस्तो देखिँदैन, तर लेदोको मात्रा घटिरहेको छ।”

पानी बाहिरिएर लेदो केही सुक्न थालेपछि सुरुङभित्र थप अगाडि बढ्ने सम्भावना बढेको छ। अवस्था अनुकूल रहेमा उद्धारमा खटिएका नेपाली सेनाका केही सदस्यलाई साँघुरो खाली ठाउँबाट घिस्रिएर भित्र पठाउने तयारी भइरहेको महर्जनले बताएका छन्।

उनका अनुसार साँझसम्म सुरुङभित्र पर्याप्त खाली ठाउँ बनेमा सेनाका केही सदस्यलाई घिस्रिँदै अगाडि पठाएर अवस्था बुझ्ने योजना छ।

अहिले उद्धार टोलीको ध्यान सुरुङभित्रको लेदो तथा अवरोध क्रमशः हटाउँदै सम्भावित सुरक्षित स्थानतर्फ पुग्नेमा केन्द्रित छ।

चिलिमे भूमिगत विद्युतगृहमा कर्मचारीहरू फसेको आशंकापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली तथा आयोजनाका प्राविधिकहरू निरन्तर खोज तथा उद्धारमा खटिएका छन्।

टेलरेसबाट सफा पानी बाहिरिनु र लेदोको मात्रा घट्नुले सुरुङभित्र प्रवेशका लागि अवस्था केही सहज बन्न सक्ने देखिएको छ। अब साँझ सुरुङभित्र सेनाका उद्धारकर्मी प्रवेश गर्न सक्ने अवस्था बन्छ कि बन्दैन भन्ने विषयलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

टनेल विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले सुरुङभित्र साँघुरो खण्डबाट घिस्रिएर अघि बढ्ने प्रयासलाई सामान्य र सबैभन्दा छिटो अघि बढ्ने उपायका रूपमा व्याख्या गरेका छन्। उनले पछिल्लो प्रगतिलाई “अझ उत्कृष्ट प्रगति” भएको टिप्पणी गरेका छन्।

डिक्सका अनुसार साँघुरो उत्खननबाट घिस्रिएर अघि बढ्दा सुरुङको अर्को भागमा रहेको अज्ञात अवस्था वा त्यहाँ मानिसहरू नजिकै हुन सक्ने सम्भावनामा कम असर पर्छ। त्यसैले यस्तो अवस्थामा यो सुरक्षित र छिटो अघि बढ्ने विधि हुन सक्छ।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | १३:२६:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया