परराष्ट्र र अर्थमन्त्रीसँग कतारी प्रतिनिधिमण्डलको भेट, नेपाल–कतार द्विपक्षीय लगानी र निजी क्षेत्र सहकार्यमा छलफल
जलसरोकार
काठमाडौं: कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ।
भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रहेको थियो।
भेटका क्रममा नेपाल-कतार द्विपक्षीय लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा सरकार-सरकार र निजी क्षेत्र-निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा अर्थमन्त्री खनालले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा संरचनागत सुधारहरू अघि बढाइएको जानकारी दिनुभयो। उनले वैदेशिक लगानी र प्रविधि हस्तान्तरणमार्फत आर्थिक वृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।
अर्थमन्त्री खनालले ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन तथा सूचना प्रविधि लगायतका क्षेत्रमा कतारी लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
त्यस्तै, परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालले विदेशी लगानीकर्ताका लागि नीतिगत सुधार र कूटनीतिक सहजीकरणलाई प्राथमिकतामा राखेको बताउँदै ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि जस्ता क्षेत्रमा कतारी लगानीका आकर्षक अवसर रहेको उल्लेख गरे ।
नेपालका लागि कतारका राजदूत अल अन्सारीले कतारी निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै स्थिर नीति, सहज बैंकिङ प्रणाली र लगानी सुरक्षाले लगानी प्रवाह अझ बढ्ने विश्वास व्यक्त गरे।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा निजी क्षेत्र नेतृत्वको विकास मोडेललाई प्रवर्द्धन गर्न महासङ्घ सक्रिय रहेको उल्लेख गरे । उनले कतारी लगानीकर्तालाई नेपालमा दीर्घकालीन साझेदारीका लागि आह्वान गर्दै ऊर्जा, पर्यटन, जलविद्युत्, होटल, कृषि प्रशोधन र पूर्वाधार क्षेत्रमा संयुक्त लगानीको ठूलो सम्भावना रहेको बताए।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदेलीले नेपालमा लगानी वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान-प्रदान विस्तार गर्न इच्छुक रहेको बताए।
भेटवार्ताले नेपाल-कतार आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र भविष्यमा ठोस लगानी सहकार्यका आधार तयार गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिमण्डलले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पनि भेटवार्ता गरेको थियो।
कतारी प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु