सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त

नेपाल–कतारबीच आर्थिक विकास, पर्यटन र लगानी सहकार्यबारे छलफल

जलसरोकार
सोमबार, माघ २६, २०८२ | १९:०३:०३ बजे

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (QCCI) को प्रतिनिधिमण्डलसँग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, QCCI का बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

पर्यटन र हवाई उडान विस्तारमा सहकार्य

पर्यटन मन्त्रालयमा भएको भेटमा नेपाल-कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल-कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रह्यो ।

सो अवसरमा मन्त्री सिन्हाले पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताए ।

“अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटन क्षेत्रमा कतारसँग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारहरू गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्माण गर्न तथा कनेक्टिभिटी बढाउन आवश्यक सहजीकरण गर्न सरकार तयार छ,” मन्त्री सिन्हाले भने ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल-कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको ठूलो सम्भावना रहेको बताए । उनले जलविद्युत्, पर्यटन तथा सेवा क्षेत्रमा कतारी लगानीकर्ताका लागि आकर्षक अवसर रहेको उल्लेख गरे ।

QCCI का बोर्ड सदस्य अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको बताउँदै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीच व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयमा लगानी सहजीकरणबारे छलफल

परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पनि लगानीका लागि नीतिगत सहजीकरण, द्विपक्षीय लगानी प्रवर्द्धन, नेपालमा कतारी लगानीका सम्भावना तथा भावी आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव प्रेम बहादुर राईले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताए ।

उनले सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमण ऐतिहासिक भएको स्मरण गर्दै त्यसपछि नेपाल-कतार आर्थिक सहकार्य थप सुदृढ हुँदै गएको धारणा राखे ।

कतारी राजदूत अल अन्सारीले नेपाल-कतार सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताए । उनले कतारी लगानी सहजीकरणका लागि दूतावास तयार रहेको समेत जानकारी दिए ।

आगामी भेटघाट र संयुक्त व्यवसाय परिषद् बैठक

प्रतिनिधिमण्डलले सोमबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पनि भेट गरेको छ । मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (QCCI) को प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र QCCI बीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (Joint Business Council, JBC) सम्बन्धी छलफलका लागि आइतबार काठमाडौं आइपुगेको हो । परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो ।

जेबीसीको बैठक माघ २६ र २७ गते (फेब्रुअरी ९ र १०) काठमाडौंमा बस्नेछ ।

प्रकाशित मिति : सोमबार, माघ २६, २०८२ | १९:०३:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया