सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव

जलसरोकार
शुक्रबार, पुस ०४, २०८२ | ०९:५४:४९ बजे

 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरी विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहकार्यको प्रस्ताव गरेको छ ।

बिहीबार भएको भेटमा इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको उल्लेख गर्दै विद्युत् व्यापारमा समेत प्राधिकरणसँग मिलेर अघि बढ्न वातावरण निर्माण गर्न आग्रह गरेको हो । निजी क्षेत्र र प्राधिकरणको सहकार्यमा निर्माणाधीन प्रसारण लाइनहरू छिटो सम्पन्न हुने चरणमा पुगेको जनाउँदै अन्य आयोजनामा पनि सोही मोडल विस्तार गर्नुपर्ने प्रस्ताव इप्पानले राखेको छ ।

इप्पानले प्राधिकरणद्वारा स्थापना गरिएको विद्युत् व्यापार कम्पनीमा निजी क्षेत्रलाई सेयरधनीका रूपमा सहभागी गराएर त्यसैमार्फत संयुक्त रूपमा विद्युत् व्यापार अघि बढाउन सकिने सुझाव पनि दिएको छ । इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइन अभावका कारण निजी क्षेत्रले ठूलो समस्या भोग्दै आएको बताउँदै प्राधिकरणसँग सहकार्य गर्न निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको उल्लेख गरे । उनले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र नदिइएको अवस्थामा पनि प्राधिकरणको व्यापार कम्पनीमार्फत निजी क्षेत्रको सहभागितामा व्यापार अघि बढाउन सकिने धारणा राखे ।

उक्त अवसरमा अध्यक्ष कार्कीले विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुला गर्न, आरसीओडी म्याद थप गर्न, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्न तथा हाइड्रोलोजी पेनाल्टी हटाउनुपर्ने मागसमेत अघि सार्दै यी विषय तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरण सँगै अघि बढेमा मात्र ऊर्जा क्षेत्रको दिगो विकास सम्भव हुने बताउँदै सहकार्यलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।, इप्पान उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाललगायतले पनि निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने उपयुक्त मोडल प्राधिकरणले ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्र समयमै प्रसारण लाइन निर्माण गर्न सक्षम रहेको बताउँदै निजी क्षेत्र र प्राधिकरणको संयुक्त प्रयासमा प्रसारण लाइन निर्माण गर्ने अभ्यास सुरु भइसकेको उल्लेख गरे । “प्रसारण लाइनको समस्या सबैभन्दा गम्भीर छ, यसकै कारण कन्टिन्जेन्सी जस्ता समस्या आएका हुन्,” उनले भने,“प्राधिकरणसँग पर्याप्त बजेट नभएको अवस्थामा निजी क्षेत्रको लगानी भित्र्याउन सकिए प्रसारण लाइनको मुख्य समस्या समाधान हुन्छ ।”

उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्राधिकरणको विद्युत् व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे अध्ययन गरिने जानकारी दिए । साथै, विद्युत् व्यापार कम्पनीलाई थप सक्रिय बनाउने प्रक्रिया अघि बढाइएको पनि उनले बताए । 

प्रकाशित मिति : शुक्रबार, पुस ०४, २०८२ | ०९:५४:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया