प्रधानमन्त्री कार्कीको अठोट : भ्रष्टाचार अन्त्य, सुशासन र पुनःनिर्माणमा जोड
जलसरोकार
काठमाडौँ: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट सिर्जनात्मक युवापुस्ताको चाहनाअनुरूप भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्न अठोटका साथ काम गर्ने प्रतिबद्धता आएको छ ।
सिंहदरबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले आफू पदको रसास्वादन गर्न नभई सेवा भावनाका साथ अन्तरिम सरकार सञ्चालन गर्न आएको बताइन् । उनीले आगामी छ महिनाभित्र निर्वाचनमार्फत नयाँ संसद्लाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले हालैको आन्दोलनका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै सरकारी संरचना, अभिलेख तथा सुरक्षा निकायका साधन नष्ट हुनु नियोजित षड्यन्त्र हुनसक्ने औंल्याइन् । उलीले यस्तो घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।
“हामी सबै एकताबद्ध भएर सामना गर्नुपर्छ । उपलब्ध स्रोतसाधन प्रयोग गरेर क्षतिपूर्ति र पुनःनिर्माणको काम अघि बढाउनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन् । महाराजगञ्जको जलेको प्रहरीवृत्त पुनर्निर्माण गर्न व्यवसायीले जिम्मा लिएको उदाहरण प्रस्तुत गर्दै उनले सबैलाई यसरी नै सहयोग गर्न आह्वान गरिन् ।
सो अवसरमा मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनःस्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताइन् । उनका अनुसार सबै जिल्लाका सरकारी कार्यालय तथा सुरक्षा निकायका भवनमा क्षति पुगेकाले प्राथमिकताका आधारमा बजेटको व्यवस्था गरी पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ ।
जेनजी समूहको भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा पदबहाली गरेकी हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना