झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
जलसरोकार
काठमाडौं । पूर्वी नेपालमा पटक-पटक विद्युत अवरुद्ध हुने र झ्याप्प-झ्याप्प बत्ती जाने गुनासो बढेपछि नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्व मोरङ र सुनसरी पुगेको छ। विद्युत आपूर्तिलाई गुणस्तरीय, भरपर्दो र नियमित बनाउन वितरण प्रणाली तथा निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन सुरु गरिएको प्राधिकरणले जनाएको छ।
विराटनगरलगायत पूर्वी क्षेत्रमा बढ्दो विद्युत अवरोधबारे जनगुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली अनुगमनका लागि पूर्वी नेपाल पुगेको हो।
टोलीले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ, सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ। प्रादेशिक कार्यालयमा २४ वटा कार्यालय तथा सेवा केन्द्रका प्रमुखसँग भएको बैठकमा सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
अनुगमनका क्रममा टोलीले दुहबीस्थित ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरेको छ। त्यहाँ आवश्यक तयारीलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई कार्यादेश दिइएको छ। मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार दुवै सबस्टेसन पूर्वी नेपालको विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन रणनीतिक रूपमा महत्वपूर्ण छन्। निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न आवश्यक समन्वय गर्न कर्मचारी तथा पर्याप्त जनशक्ति परिचालन गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।
प्राधिकरणले पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी रहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै