‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखनीय, क्षेत्रीय व्यापार र हरित विकासमा जोड


काठमाडौं : नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको नेतृत्व, सरकारको महत्वाकांक्षी ऊर्जा मार्गचित्र र क्षेत्रीय व्यापारका सम्भावनाहरूलाई समेट्दै अन्तर्राष्ट्रिय स्तरको ऊर्जा सम्मेलन ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आयोजनामा हुन लागेको यो समिटले ‘Mission 28,500 MW: Powering Nepal, Energizing Region’ भन्ने नाराका साथ नेपालको ऊर्जा भविष्य र सम्भावनाबारे बहस र मार्गनिर्देशन गर्नेछ ।
पावर समिटको घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा इप्पानले सम्मेलनका विशेषताहरु र नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदानबारे जानकारी गराएको हो । इप्पानका अनुसार हाल नेपालमा कुल ३,६०२ मेगावाट विद्युत उत्पादन क्षमतामध्ये २,९०० मेगावाट उत्पादन निजी क्षेत्रबाट भइरहेको छ, जुन कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी हो ।
निजी क्षेत्रको २५ वर्षको यात्रा : १३ खर्ब लगानी, ५० खर्बको तयारी
बहुदलीय प्रजातन्त्रको आगमनपछि ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई खोलिएको नीतिका कारण आज नेपालको ऊर्जा विकास उल्लेखनीय बिन्दुमा पुगेको छ । करिब २५ वर्षको अवधिमा निजी क्षेत्रले १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने आगामी वर्षहरूमा ५० खर्ब रुपैयाँ लगानी गर्ने योजनामा रहेको छ । हालै मात्र निजी क्षेत्रको अगुवाइमा ४,२०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने थप ४,१०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् ।
सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र-२०८१ अनुसार आगामी १० वर्षभित्र २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोही लक्ष्यलाई मूर्तरूप दिन निजी क्षेत्रले पावर समिटजस्ता कार्यक्रममार्फत नीतिगत बहस, लगानी आकर्षण र क्षेत्रीय सहकार्यलाई जोड दिइरहेको इप्पानका पदाधिकारीहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सहभागिता र क्षेत्रीय ऊर्जा व्यापारमा जोड
इप्पानको विशेष कार्यक्रमका रुपमा परिचित पावर समिट २०२५ मा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहनेछ । साथै नेपालस्थित भारतीय दूतावास देशीय साझेदारको रुपमा रहनेछ । समिटमा नेपालका प्रधानमन्त्री, विभिन्न देशका विशिष्ट व्यक्तित्व, विज्ञहरू, लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, निर्माण व्यवसायी, परामर्शदाता कम्पनी, विश्वविद्यालय र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
यो समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ मा सम्पन्न भइसकेका पावर समिटहरुको नवौं संस्करण हो । यसपटकको समिटमा ३० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एक हजारभन्दा बढी सहभागी रहने अनुमान गरिएको छ ।
हरित ऊर्जा, ऊर्जा सुरक्षा र दिगो विकासमा समिट केन्द्रित
पावर समिट २०२५ ले नेपाल र दक्षिण एसियाका मुलुकहरूसँग मिलेर हरित र स्वच्छ ऊर्जा प्रवर्द्धन, विद्युत र कार्बन व्यापार, नवीनतम वित्तीय उपकरणहरुको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता र अन्तरदेशीय पूर्वाधार निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तारजस्ता विषयमा बहस गर्नेछ ।
नेपाल र अन्य दक्षिण एशियाली मुलुकहरुले नेट जिरो इमिसनको लक्ष्य हासिल गर्न अवलम्बन गर्नुपर्ने नीति निर्माण, आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण, खपत वृद्धिसँगै जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका उपायहरुमाथि समेत समिटमा चर्चा गरिनेछ ।
इप्पानले यो समिट नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्ने विश्वास व्यक्त गरेको छ । साथै समिटले नेपालको बढ्दो विद्युत उत्पादनलाई क्षेत्रीय बजारसम्म पुर्याउन, प्रतिस्पर्धी बनाउन र समावेशी दिगो विकासको मार्गचित्र पहिल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो