काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिन विद्युत् प्रभावित हुने
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ । प्राधिकरणका अनुसार टेकु सबस्टेसनमा प्राविधिक काम गर्नुपर्ने भएकाले असोज ४ गतेदेखि असोज १४ गतेसम्म विभिन्न फिडरमार्फत वितरण हुने विद्युत् सेवा निर्धारित तालिकाअनुसार अवरुद्ध वा प्रभावित हुनेछ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा प्राविधिक काम गर्न लागेको हो ।
आयोजनाअन्तर्गत ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गरिनेछ । त्यसका साथै रिले रेट्रोफिट तथा सबस्टेसन अटोमेसन प्रणाली जडान र परीक्षणको कामसमेत गरिने प्राधिकरणले जनाएको छ ।
उक्त कामका क्रममा १३२ केभी टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडर प्रभावित हुनेछन् । ती फिडरबाट विद्युत् आपूर्ति हुने काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध वा प्रभावित हुन सक्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार सबस्टेसनमा गरिने कामको प्रकृति र प्रभावित हुने फिडरअनुसार विद्युत् आपूर्ति बन्द हुने समय फरक–फरक हुनेछ । त्यसैले असोज ४ देखि १४ गतेसम्म सबै क्षेत्रमा एकै समयमा विद्युत् अवरुद्ध हुने अवस्था भने रहने छैन ।
सम्बन्धित फिडरमा आवश्यकताअनुसार विद्युत् आपूर्ति बन्द गरी नयाँ रिले जडान, रेट्रोफिट तथा परीक्षणको काम गरिने प्राधिकरणले जनाएको छ । प्राविधिक कामका कारण उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले निर्धारित समयअनुसार काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ ।
नयाँ रिले जडान, रेट्रोफिट तथा सबस्टेसन अटोमेसन प्रणालीसम्बन्धी परीक्षण सम्पन्न भएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ ।
विद्युत् प्रणालीलाई थप सुरक्षित, भरपर्दो तथा आधुनिक बनाउन सबस्टेसनमा रहेका पुराना उपकरण र रिले विस्थापन गरी नयाँ प्रणाली जडान गर्न लागिएको प्राधिकरणको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिन विद्युत् प्रभावित हुने
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
वीरगन्ज भन्सारले एक महिनामा उठायो रु २३ अर्ब ४६ करोड राजस्व
-
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड