दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिन अध्यक्ष ढकालको आग्रह
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन् ।
नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुक निर्वाचनमय वातावरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै हाल सबै राजनीतिक दल चुनावी घोषणापत्र तयार गर्ने चरणमा रहेकाले निजी क्षेत्रका प्राथमिकता स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड दिए ।
“मुलुकको अर्थतन्त्रको विकास सबै राजनीतिक दलको साझा एजेन्डा हुनुपर्छ,” उनले भने, “त्यसका लागि निजी क्षेत्रका एजेन्डालाई दलहरूले आफ्ना चुनावी घोषणापत्रमा पहिलो प्राथमिकताका साथ समेट्नुपर्छ । म सबै राजनीतिक दलहरूलाई यसैका लागि आग्रह गर्दछु ।”
अध्यक्ष ढकालले रोजगारी सिर्जना, उद्योग–धन्दा तथा कलकारखानाको समुचित विकासमार्फत औद्योगिकरणलाई अगाडि बढाउन निजी क्षेत्रका एजेन्डालाई केन्द्रमा राख्नुपर्ने सुझाव दिए । यसले मात्र दिगो आर्थिक विकास सम्भव हुने उनको भनाइ थियो ।
मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासले हालको अवस्था सम्भव भएको स्मरण गराउँदै उनले आगामी दिनहरू पनि सहज नहुने भएकाले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ आवश्यक रहेको बताए ।
उनले जुनसुकै राजनीतिक दलको सरकार बने पनि अर्थतन्त्रलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा लिइनुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष ढकालले आर्थिक अवस्थाको यथोचित वृद्धि नभएसम्म सुशासन र समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्दै सबै राजनीतिक दलले आर्थिक एजेन्डालाई साझा एजेन्डाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न