तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ९ हजारभन्दा बढी रुखबिरुवा हटाउन अनुमति
जलसरोकार
दमौली : तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लामा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्त भएसँगै त्यहाँ रहेका रुखबिरुवा हटाउन अनुमति दिइएको हो ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रसारण लाइनका टावर निर्माण तथा मार्गाधिकार क्षेत्रमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उक्त सम्झौता कार्यान्वयनका लागि डिभिजन वन कार्यालय चितवनमा पत्राचार गरिसकिएको उनले बताए । आवश्यक अनुमति नपाउँदा प्रसारण लाइन निर्माण कार्य प्रभावित भइरहेको थियो ।
प्याकेज–३ को निर्माण जिम्मा भारतको केइसी इन्टरनेशनल लिमिटेडले लिएको छ। ३३ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ । यस प्याकेजको समग्र प्रगति करिब ७५ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।
तनहुँ जलविद्युत आयोजना तीनवटा प्याकेजमार्फत अघि बढाइएको छ । प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस प्याकेजमा हालसम्म ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच मार्ग, सेती नदीको धार परिवर्तन गर्न अस्थायी बाँध निर्माण, दुईवटा डाइभर्सन सुरुङ निर्माणलगायतका संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको जनाइएको छ ।
प्याकेज–२ अन्तर्गत विद्युगृह तथा सम्बन्धित उपकरण जडान कार्य चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । हालसम्म भूमिगत संरचना निर्माणका लागि खन्ने काम सम्पन्न भई अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको भण्डारीले बताए । विद्युगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भई यस प्याकेजको प्रगति करिब ७३ प्रतिशत पुगेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार विद्युत्गृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल जडान कार्य जारी छ । विद्युत्गृहमा छाना हाल्ने, पानी व्यवस्थापनलगायतका काम भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोपावर क्षेत्रमा दबाब, साप्ताहिक टप लुजरमा ऊर्जा कम्पनी हाबी
-
तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ९ हजारभन्दा बढी रुखबिरुवा हटाउन अनुमति
-
दरको राजनीति र ऊर्जा सुरक्षामाथिको खेल
-
नासा सेक्युरिटिज अग्रणी खरिदकर्ता, एक सातामै १.३३ अर्बको किनबेच
-
ठूला ब्रोकर्सको ध्यान हाइड्रोपावरमा, आँखुखोलामा सर्वाधिक लगानी
-
हाइड्रो क्षेत्रमा ठूलो खेल: खरिद र बिक्री दुवैमा एउटै कम्पनीहरू हाबी