काठमाडौं : लागत अनुमानभन्दा एक तिहाईभन्दा बढी रकमको कबोल परेपछि त्रिशुली जलविद्युत् कम्पनीले लट २ को ठेक्का रद्द गर्याे ।
त्रिशुली जलविद्युत् कम्पनीले निर्माण गरेको त्रिशुली थ्री बीको लट २ को ठेक्कामा एन्ड्रिच हाइड्रोको मात्र एकल प्रस्ताव पर्यो ।
करिब २ अर्ब रुपैयाँको अनुमानित लागत रहेको लट २ को ठेक्कामा एन्ड्रिज हाइड्रोले अनुमानित लागतभन्दा करिब एक तिहाई नै बढीमा बिडिङ गरेकाले कम्पनीले उसलाई प्रतिस्पर्धाबाट बाहिर पुर्याएको थियो ।
कम्पनीले दोस्रोपटक पुनः अन्तर्राष्ट्रिय बिडिङ गर्यो । दोस्रोपटक पनि एउटा मात्र कम्पनीको प्रस्ताव परेको त्रिशुली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले बताए ।
दोस्रोपटक आव्हान गर्दा कम्पनीले आयोजनाको लागत र केही क्राइटेरियाहरु पनि संशोधन गरेको थियो । ‘यसपालि पनि एउटाको मात्रै प्रस्ताव परेको छ, हामी त्यसको प्राविधिक मूल्यांकन गरिरहेका छौं,’ ढुंगेलले सोमबार जलसरोकारसित भने, ‘नियमपूर्वक सबै कुरा मिल्यो भने आगामी फागुनको पहिलो साता ठेक्का सम्झौता हुने सम्भावना छ ।’
लट २ मा आयोजनाको इलेक्ट्रो मेकानिकाल र हाइड्रो मेकानिकल निर्माण कार्य छ । दुबै विधालाई एउटै लटमा ठेक्का गरिएको हो ।
ढुंगेलका अनुसार लट २ को ठेक्कापट्टा हुन सक्यो भने यो आयोजना २०८३ को असारमा सम्पन्न हुने लक्ष्य छ । लटको २ को बिडिङमा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेडका प्रस्ताव परेको हो ।
लट २ को डिजाइन ठेकेदार नै गरेको र कम्पनीले स्वीकृत गरिसकेको थियो । केही सामान तथा उपकरणहरु चीनमा उत्पादन पनि भइसकेका थिए । केही सामान साइटमा ल्याइसकेको पनि थियो । पहिले गरेका डिजाइन र सामान केही काम नलग्ने भएकाले नयाँ ठेकेदारले नै डिजाइन गर्ने गरी ठेक्का दिन लागिएको हो ।
चिनियाँ कम्पनी Shuifa ANHE Group Co Ltd ले गत २०१८ को फेब्रुअरीमा यो आयोजनाको इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सनको ठेक्का लिएको थियो । ठेकदारले गतिलोसँग काम नगरेपछि उसकै कारण कम्पनीले गत २०२३ डिसेम्बर १६ देखि लागू हुने गरी उक्त ठेक्का रद्द गरेको थियो ।
ठेक्का रद्द हुँदा ३७ मेगावाटको उक्त आयोजनाको निर्माण कार्य ६० प्रतिशत पूरा भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०, ३० प्रतिशत शेयर रहेको त्रिशुली थ्री बीको बाँकी कामका लागि कम्पनीले नयाँ ठेक्का आव्हान गरेको थियो । लट १ (सिभिल) र लट २ (इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल) को ठेक्का भएको थियो ।
लट १ को सिभिलतर्फको ठेक्का नेपालको चर्चित निर्माण कम्पनी फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ । ढुंगेलका अनुसार फेवा कन्स्ट्रक्सनले एक अर्ब ८४ करोड रुपैयाँमा पाएको हो ।
लट १ को प्रतिसपर्धामा ७ कम्पनी सहभागी थिए । तीमध्ये ६ वटा मात्र प्रतिस्पर्धाका लागि आर्थिक र प्राविधिक रुपले योग्य ठहरिएका थिए । ठेक्का पाएको फेवा कन्स्ट्रक्सनले साइटमा गएर काम पनि सुरु गरिसकेको छ ।
नेपाल विद्युत् प्राधिरणले निर्माण गरेको माथिल्लो त्रिशुली थ्री ए (६० मेगावाट) ले बिजुली उत्पादन गरी निकालेको पानी सोझै सुरुङमा ओइर्याउने (क्यासकेड) गरी यो आयोजना निर्माण सुरु भएको हो ।
आयोजनामा मुहान (इनटेक) बनाउनु नपर्ने तर हेड पोण्ड (टेलरेसबाट निस्केको पानी जम्मा गर्ने पोखरी) बनाई सुरुङ हुँदै विद्युत् उत्पादन गर्ने गरी यो आयोजना डिजाइन गरिएको हो ।
माथिल्लो त्रिशुली थ्री ए लाई ६० मेगावाटबाट ९० मेगावाट बनाउँदा त्रिशुली थ्री बीको पनि क्षमता वृद्धि भई ४२ मेगावाट हुन्थ्यो । तत्कालीन खिलराज रेग्मी सरकारको पालामा ऊर्जा मन्त्रालयले माथिल्लो त्रिशुली थ्री एलाई ६० बाट ९० मेगावाट क्षमता वृद्धि गर्ने निर्णय गरेको पनि थियो । तर प्राधिकरणका राजनीतिक दल आबद्ध ट्रेड युनियनका कर्मचारीहरुको विरोधका कारण फिर्ता लिनुपरेको थियो ।
आयोजना प्रवद्र्धक कम्पनीमा प्राधिकरण, टेलिकम, नुवाकोट र रसुवाका स्थानीय वासिन्दा तथा वित्तीय संस्था र सर्वसाधारणको शेयर छ ।
प्रकाशित मिति : सोमबार, पुस १५, २०८१ | १६:१५:३८ बजे