सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

त्रिशूली थ्री ‘बी’को कार्यालय भवन नरहेको लगभग निश्चित, बी-१ र बी-२ क्वार्टर क्षेत्रमा थप उत्खनन गरिने

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | ०९:१५:१९ बजे

काठमाडौं : माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उत्खननका क्रममा कार्यालय भवनको प्लिन्थ (जग) तहसम्म पुग्दा पनि कुनै अक्षुण्ण संरचना फेला नपरेपछि उक्त भवन नरहेको लगभग निश्चित भएको छ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले जलसरोकारलाई दिएको जानकारीअनुसार बुधबार बिहान करिब साढे ७ बजेदेखि तीन ठूला एक्स्काभेटर र एउटा ब्याकहो लोडर प्रयोग गरेर उत्खनन कार्य पुनः सुरु गरिएको थियो।

यससँगै नजिकैको एउटा घरमा थुप्रिएको भग्नावशेष हटाउन तीनवटा मिनी एक्स्काभेटरसमेत परिचालन गरिएको थियो। उक्त घरमा कम्पनीकी एक कर्मचारी र उनको परिवार बस्दै आएको ढुंगेलले जानकारी दिएका छन्।

दिनभरको उत्खननबाट उल्लेख्य प्रगति भएको र टोली कार्यालय भवनको प्लिन्थ तहसम्म पुगेको उनले बताएका छन्। तर उक्त तहमा केही चकनाचुर भएका संरचनाका अवशेषबाहेक कुनै पनि अक्षुण्ण संरचना फेला परेको छैन।

“अब कार्यालय भवन त्यहाँ छैन भन्ने लगभग निश्चित भएको छ,” ढुंगेलले बताएका छन्।

उनका अनुसार सम्भव भए बिहीबार कार्यालय भवन रहेको क्षेत्रमा केही थप उत्खनन गरिनेछ। त्यस्तै बी-१ र बी-२ क्वार्टर भवनको वास्तविक अवस्था यकिन गर्न ती क्षेत्रमा अझ केही गहिरोसम्म उत्खनन गर्नुपर्नेछ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको कार्यालय तथा आवासीय भवन रहेको क्षेत्र बाढीपछि ठूलो परिमाणमा माटो, ढुंगा र भग्नावशेषले पुरिएको छ। त्यसैले भवनको वास्तविक अवस्था पत्ता लगाउने खोज तथा उत्खनन कार्य निकै चुनौतीपूर्ण, श्रमसाध्य र अनिश्चिततापूर्ण रहेको ढुंगेलले बताएका छन्।

उनले कठिन परिस्थितिका बीच खोजीमा खटिएका सबैप्रति आभार व्यक्त गर्दै उद्धार तथा खोज कार्यमा सहयोग र धैर्यका लागि पनि धन्यवाद दिएका छन्।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | ०९:१५:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया