सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या ६७१ जना

जलसरोकार
मंगलबार, फागुन ०५, २०८२ | ०९:५३:०८ बजे

 

काठमाडौँ, : निर्वाचन आयोग ले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेपछि उम्मेदवारले धमाधम खाता खोल्न थालेका छन् । आयोगका अनुसार हालसम्म ६७१ जना उम्मेदवारले चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोलेका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ६७१ जनाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेको सूचना आयोगको प्रणालीमा प्राप्त भएको जानकारी दिए ,। यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था नभए पनि यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीबाटै गर्नुपर्ने नियम लागू गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार यस व्यवस्थाले निर्वाचन खर्चलाई पारदर्शी बनाउने विश्वास गरिएको छ ।

आयोगले भूगोल र जिल्लाको आधारमा उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आर्थिक अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउत का अनुसार दुर्गम जिल्ला कालीकोटका सबै उम्मेदवारले बैंक खाता खोलिसकेका छन् भने सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको अवस्था छ ।

नेपाल राष्ट्र बैंक का अनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भइसकेका छन्। आयोगले उम्मेदवार र राजनीतिक दललाई रु २५ हजारभन्दा बढी रकम बैंक खातामार्फत मात्रै लिन–दिन र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोमबार आयोगले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी बनाउने उद्देश्यले नगद खर्चमा कडाइ गरिएको र सोहीअनुसार छुट्टै निर्देशिका जारी गरिएको जानकारी दिए । 

प्रकाशित मिति : मंगलबार, फागुन ०५, २०८२ | ०९:५३:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया