सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

जलसरोकार
सोमबार, भदौ १५, २०८३ | ११:०७:४९ बजे

 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तीनमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

उक्त निक्षेप संकलन उपकरणको अवधि ८६ दिनको रहनेछ। यसको साँवा तथा ब्याज तोकिएको भुक्तानी मितिमा एकमुष्ट भुक्तानी गरिनेछ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। सहभागी संस्थाले बहु–ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिनेछ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था छ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिई क्रमशः निक्षेप बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिएको निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

त्यस्तै, निक्षेप रकमलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। उक्त निक्षेपको अवधि पूरा हुनुअघि प्रि–म्याच्योर भुक्तानीको सुविधा भने उपलब्ध हुने छैन।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अर्थात् तरलता बढेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलनलगायत मौद्रिक उपकरणमार्फत बजारबाट रकम प्रशोचन गर्दै आएको छ।

प्रकाशित मिति : सोमबार, भदौ १५, २०८३ | ११:०७:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको