सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | १६:१४:१३ बजे

 

काठमाडौँ : अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत झिक्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता र नजिकिँदै गरेको चाडपर्वमा बैंकका काउन्टरमा हुने भीड कम गर्न एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण हुने व्यवस्था मिलाउन भनेको छ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र एक हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ। साना दरका नोट आवश्यक पर्दा ग्राहक बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था रहेको छ।

विशेषगरी दसैँ, तिहारलगायतका ठूला चाडपर्वका समयमा नयाँ तथा साना दरका नोटको माग बढ्ने भएकाले बैंकका काउन्टरमा सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ। एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुने भएपछि साना दरका नोटका लागि बैंकको काउन्टर धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार केही बैंक तथा वित्तीय संस्थासँग एटीएमको प्राविधिक क्षमताका विषयमा जानकारी लिँदा १०० रुपैयाँ दरका नोट वितरण गर्न सकिने देखिएको छ। सोही आधारमा एटीएमबाट १०० रुपैयाँका नोटसमेत उपलब्ध गराउने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो।

चाडपर्वको समयमा नगद कारोबार बढ्ने र साना दरका नोटको मागसमेत उच्च हुने भएकाले नयाँ व्यवस्थाले सर्वसाधारणलाई सहज हुने तथा बैंकका काउन्टरमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | १६:१४:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया