सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी भवनको खोजी जारी, ए-१, ए-२ र डी क्षेत्रमा अझै कुनै संरचना भेटिएन

जलसरोकार
शनिबार, भदौ २७, २०८३ | १२:२९:४२ बजे

रसुवा : बाढी प्रभावित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा बाँकी रहेका भवनको खोजीका लागि भइरहेको उत्खननमा ए-१, ए-२ र डी भवन रहेको क्षेत्रमा अहिलेसम्म कुनै पनि संरचनाको स्पष्ट अवशेष भेटिएको छैन।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले जलसरोकारलाई दिएको जानकारीअनुसार, ए-१, ए-२ र डी भवन रहेको क्षेत्रमा बिहीबार बिहान करिब साढे ७ बजेदेखि उत्खनन सुरु गरी साँझ करिब ६ बजेसम्म काम गरिएको थियो।

दिनभरको उत्खननका क्रममा पनि कुनै भवनको स्पष्ट चिनो वा अवशेष फेला नपरेको ढुंगेलले बताएका छन्। तर अन्तिम निष्कर्षमा पुग्न भने उक्त क्षेत्रमा अझ गहिराइसम्म उत्खनन गर्नुपर्ने उनले बताएका छन्।

ए-१ र ए-२ भवन रहेको क्षेत्रको उल्लेख्य भागमाथिबाट अहिले नदी बगिरहेकाले त्यहाँको उत्खनन तथा खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ। नदीको बहाव प्रभावित क्षेत्रमा बाँकी रहेका संरचनाको अवस्था यकिन गर्न कम्पनीले उपलब्ध क्षेत्रमा क्रमशः गहिरो उत्खनन गरिरहेको छ।

ढुंगेलका अनुसार ए-१, ए-२ र डी गरी बाँकी रहेका तीन भवनको अवस्थाबारे भोलिसम्म निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि आयोजनाको कार्यालय भवन तथा बी-१ र बी-२ आवासीय भवन रहेको क्षेत्रमा गरिएको उत्खननमा पनि कुनै अक्षुण्ण संरचना भेटिएको थिएन। जगको तहसम्म उत्खनन गर्दा चकनाचुर कंक्रिट र फलामे डन्डीका टुक्रा मात्र फेला परेपछि ती भवनहरू पनि बाढीपछिको अवस्थामा उक्त स्थानमा नरहेको निष्कर्षमा कम्पनी पुगेको थियो।

अब ए-१, ए-२ र डी भवन रहेको क्षेत्रको खोजीबाट बाँकी संरचनाको अवस्थाबारे पनि स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : शनिबार, भदौ २७, २०८३ | १२:२९:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको