सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवागढी उद्धारमा नयाँ प्राविधिक संकेत : मुख्य सुरुङ छाेपिए पनि ट्रान्सफर्मर क्याभर्नमा दुई फिट खाली ठाउँ

जलसरोकार
मंगलबार, भदौ १६, २०८३ | १८:१२:४६ बजे

काठमाडौं : रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत पावरहाउसमा फसेकाहरूको खोज तथा उद्धारका क्रममा मुख्य पहुँच सुरुङ पूर्ण रूपमा छोपिएको भए पनि ट्रान्सफर्मर क्याभर्नमा करिब दुई फिट खाली ठाउँ रहेको जानकारी आयोजनाका एक वरिष्ठ इन्जिनियरले दिएका छन्। उनका अनुसार यदि कोही केबल टनेलको मार्गमा पुगेका छन् भने बाँच्ने सम्भावना अझै रहन सक्ने देखिन्छ।

रसुवागढी हाइड्रोपावर लिमिटेडका एक वरिष्ठ इन्जिनियरले जलसरोकारलाई उपलब्ध गराएका आयोजनाका तीनवटा भूमिगत संरचनासम्बन्धी नक्सा र स्थलगत अवस्थाबारे दिएको जानकारीअनुसार मुख्य पहुँच सुरुङ (Main Access Tunnel) पूरै छोपिएको अवस्था छ। तर पावरहाउससँग जोडिएको ट्रान्सफर्मर क्याभर्न (ट्रान्सफर्मर राखिएको भूमिगत कक्ष) भने पूर्ण रूपमा भरिएको छैन।

ती वरिष्ठ इन्जिनियरका अनुसार ट्रान्सफर्मर क्याभर्नमा करिब दुई फिट खाली स्थान बाँकी छ। यही अवस्थालाई आधार बनाउँदै उनले त्यहाँ वा त्यससँग जोडिएको संरचनामा कोही पुगेका भए बाँच्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने बताएका छन्।

मुख्य पहुँच सुरुङ अवरुद्ध, वैकल्पिक संरचनातर्फ ध्यान

उपलब्ध नक्सामा रसुवागढीको भूमिगत पावरहाउससम्म पुग्ने मुख्य पहुँच सुरुङ, ट्रान्सफर्मर क्याभर्नतर्फ जाने पहुँच सुरुङ, केबल टनेल, पावरहाउस क्याभर्न तथा अन्य भूमिगत संरचनाबीचको सम्बन्ध देखाइएको छ।

आयोजना १११ मेगावाट क्षमताको हो र यसको पावरहाउस भूमिगत संरचनामा निर्माण गरिएको छ। कम्पनीको विवरणअनुसार पावरहाउसको आकार करिब ७६.३ मिटर लामो, १५ मिटर चौडा र ३५ मिटर अग्लो छ। यसमा तीनवटा ३८.५ मेगावाटका फ्रान्सिस टर्बाइन रहेका छन्।

यस्तो बहुस्तरीय भूमिगत संरचनामा एउटा प्रवेशमार्ग अवरुद्ध हुँदा त्यससँग जोडिएका अन्य सुरुङ तथा क्याभर्नको अवस्थासमेत एकसाथ अध्ययन गर्नु आवश्यक हुने देखिन्छ।

“यदि कोही केबल टनेलको रुटमा भए...”

ती वरिष्ठ इन्जिनियरले उद्धारका लागि विशेष रूपमा केबल टनेल (विद्युत् तथा नियन्त्रणसम्बन्धी केबल लैजाने भूमिगत मार्ग) तर्फ पनि ध्यान दिनुपर्ने संकेत गरेका छन्।

उनले  मंगलबार (आज) जलसरोकारसित भने, “Main access tunnel पुरै छोपिएको छ। Transformer cavern २ फिट खाली छ। बाँच्ने सम्भावना केही छ। यदि कोही cable tunnel को route मा भए...”

यस भनाइले अहिलेको उद्धारमा एउटा महत्वपूर्ण प्रश्न उठाउँछ कि मुख्य पहुँच सुरुङबाट जान नसकिएको अवस्थामा केबल टनेल वा त्यससँग जोडिएका अन्य भूमिगत संरचनाबाट फसेकासम्म पुग्ने सम्भावना छ कि छैन?

तर ती वरिष्ठ इन्जिनियरले केबल टनेलमा मानिस रहेको पुष्टि गरेका छैनन्। उनले ‘यदि कोही त्यस मार्गमा पुगेका भए’ भन्ने सम्भावना मात्र औँल्याएका हुन्। त्यसैले उक्त क्षेत्रलाई तत्काल खोजी र प्राविधिक परीक्षणको सम्भावित स्थानका रूपमा हेर्नुपर्ने हुन्छ।

नक्सामा पावरहाउस र ट्रान्सफर्मर क्याभर्नको सम्बन्ध

                       रसुवागढी पावरहाउसको भूमिगत संरचना देखाउने नक्सा

 

ती वरिष्ठ इन्जिनियरले उपलब्ध गराएका नक्साहरूमा पावरहाउस क्याभर्न र ट्रान्सफर्मर क्याभर्नबीचको भूमिगत सम्बन्ध स्पष्ट देखिन्छ। मुख्य पहुँच सुरुङबाट पावरहाउस क्षेत्रतर्फ जाने मार्गसँगै ट्रान्सफर्मर क्याभर्नतर्फ जाने छुट्टै पहुँच संरचना समेत देखाइएको छ।

त्यस्तै, पावरहाउसको ठाडो तथा तेर्सो संरचनाको नक्सामा टर्बाइन–जेनेरेटर क्षेत्र, कन्ट्रोल रुम, ट्रान्सफर्मर क्षेत्र तथा विभिन्न तहका भूमिगत संरचना देखिन्छन्।

यसले उद्धारका लागि केवल मुख्य प्रवेश सुरुङमा निर्भर नभई भूमिगत संरचनाको सम्पूर्ण सञ्जाललाई एकैपटक अध्ययन गर्नुपर्ने आवश्यकता देखाउँछ।

दुई फिटको खाली ठाउँ किन महत्वपूर्ण?

ट्रान्सफर्मर क्याभर्नमा करिब दुई फिट खाली ठाउँ रहेको जानकारीलाई सामान्य रूपमा हेर्न मिल्दैन। यदि क्याभर्नभित्र पानीको तह त्यहाँसम्म पुगेको छ भने त्यो खाली ठाउँ मानिसका लागि पर्याप्त सुरक्षित स्थान हो वा होइन भन्ने कुरा फरक विषय हो।

तर त्यहाँ कुनै व्यक्ति वा समूह पुगेका छन् भने उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन सकिने ध्वनि, क्यामेरा, ड्रोन, सञ्चार उपकरण वा अन्य प्राविधिक माध्यम प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठ्छ। यसका लागि पानीको वास्तविक तह, क्याभर्नको हावाको अवस्था, संरचनाको सुरक्षा तथा त्यहाँसम्म पुग्ने सम्भावित मार्गबारे विज्ञ टोलीले तत्काल मूल्याङ्कन गर्नुपर्ने हुन्छ।

                                                                   रसुवागढी पावरहाउसको भित्री संरचना देखाउने लम्बे नक्सा

 

उद्धारमा “कहाँ छन्?” भन्ने प्रश्न अब झन् महत्वपूर्ण

रसुवागढीमा यसअघि उद्धार टोलीले सुरुङको खुला भागसम्म पुगेर खोजी गरेको भए पनि भूमिगत पावरहाउसतर्फको मार्ग अवरुद्ध भएपछि थप अघि बढ्न नसकेको सार्वजनिक विवरण आएको छ। आयोजनाका अधिकारीहरूले भूमिगत विद्युत् गृह पुग्न करिब ७ मिटर बाँकी रहँदा सुरुङ बन्द भएको बताएका छन्।

त्यसकारण अब उद्धारको चुनौती अवरुद्ध सुरुङ हटाएर सोही बाटोबाट अघि बढ्ने मात्र नभई, ‘भूमिगत संरचनाभित्र फसेका हुन सक्ने व्यक्तिहरूका लागि अर्को सम्भावित पहुँच कहाँबाट बनाउन सकिन्छ’ भन्ने पनि हो।

ती वरिष्ठ इन्जिनियरले उपलब्ध गराएका नक्साले यसका लागि मुख्य पहुँच सुरुङ, केबल टनेल, ट्रान्सफर्मर क्याभर्न र पावरहाउसबीचको संरचनागत सम्बन्ध अध्ययन गर्ने आधार दिएको छ।

तर नक्साले सम्भावित मार्ग देखाए पनि फसेका व्यक्ति वास्तवमै कुन स्थानमा छन् भन्ने प्रमाणित गर्दैन। त्यसैले अब नक्सालाई स्थलगत अवस्थासँग मिलाएर केबल टनेल, ट्रान्सफर्मर क्याभर्न र अन्य जोडिएका भूमिगत संरचनामा तत्काल खोजी तथा अवस्था परीक्षण गर्नु महत्वपूर्ण हुन सक्छ।

मुख्य पहुँच सुरुङ छोपिएको छ, तर भूमिगत संरचनाको अर्को भागमा खाली ठाउँ बाँकी रहेको सूचना आएको छ। त्यसैले उद्धारमा अब एउटा मात्र बाटो होइन, आयोजनाको सम्पूर्ण भूमिगत संरचनालाई सम्भावित जीवनमार्गका रूपमा हेरेर तत्काल प्राविधिक परीक्षण गर्नु आवश्यक देखिन्छ।

                                           रसुवागढी पावरहाउसको भूमिगत संरचनाको माथिल्लो योजना नक्सा

प्रकाशित मिति : मंगलबार, भदौ १६, २०८३ | १८:१२:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया