चिलिमे सुरुङमा नयाँ आशा : ४० मिटरभित्र ठूला ढुंगा र पाइप भेटिए, भित्र खाली स्थान हुनसक्ने अनुमान
जलसरोकार
रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी खोज तथा उद्धारका क्रममा करिब ४० मिटरको दूरीमा ठूला ढुंगासहितको पाइप भेटिएको छ। उद्धार टोलीले अहिले ती ढुंगा र लेदो धमाधम बाहिर निकालिरहेको छ।
उद्धार कार्यमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार, सुरुङभित्र करिब ४० मिटरको दूरीमा ठूला–ठूला ढुंगासहित पाइप भेटिएको हो।
हाल उद्धार टोलीले पाइपसँगै रहेका ढुंगा र लेदो हटाएर बाटो खुलाउने काम तीव्र रूपमा गरिरहेको न्यौपानेले बताएका छन्।
उनका अनुसार ढुंगा र लेदोका कारण सुरुङको बाटो बन्द भएको अवस्थाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ।
उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्न सकेमा आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा गर्न सकिने न्यौपानेले उल्लेख गरेका छन्।
चिलिमे सुरुङभित्र फसेको अनुमान गरिएका ६ जनाको खोजी तथा उद्धारका क्रममा यसअघि पनि सुरुङभित्रबाट चिसो हावा आएको, हावाको दोहोरो बहाव देखिएको तथा आवाज पठाउँदा प्रतिध्वनि आएको जानकारी सार्वजनिक भएको थियो। यी संकेतले सुरुङभित्र कुनै खाली स्थान हुनसक्ने सम्भावनालाई बल पुर्याएको उद्धारमा संलग्न प्राविधिकहरूले बताएका छन्।
अहिले उद्धार टोलीको मुख्य चुनौती सुरुङमा थुप्रिएको लेदो, ढुंगा तथा अन्य अवरोध हटाउँदै अगाडि बढ्नु हो। पछिल्लो स्थानमा भेटिएको ठूला ढुंगा र पाइप हटाउने काम सफल भएमा टोली थप भित्र पुग्न सक्नेछ।
“सबैको सकारात्मक आशा र प्रार्थना कायम राखौँ,” न्यौपानेले आफ्नो अपडेटमा भनेका छन्।

तस्वीर : ई. श्रीराम न्यौपाने
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी