सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे सुरुङमा नयाँ आशा : ४० मिटरभित्र ठूला ढुंगा र पाइप भेटिए, भित्र खाली स्थान हुनसक्ने अनुमान

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | १२:००:०० बजे

रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी खोज तथा उद्धारका क्रममा करिब ४० मिटरको दूरीमा ठूला ढुंगासहितको पाइप भेटिएको छ। उद्धार टोलीले अहिले ती ढुंगा र लेदो धमाधम बाहिर निकालिरहेको छ।

उद्धार कार्यमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार, सुरुङभित्र करिब ४० मिटरको दूरीमा ठूला–ठूला ढुंगासहित पाइप भेटिएको हो।

हाल उद्धार टोलीले पाइपसँगै रहेका ढुंगा र लेदो हटाएर बाटो खुलाउने काम तीव्र रूपमा गरिरहेको न्यौपानेले बताएका छन्।

उनका अनुसार ढुंगा र लेदोका कारण सुरुङको बाटो बन्द भएको अवस्थाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ।

उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्न सकेमा आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा गर्न सकिने न्यौपानेले उल्लेख गरेका छन्।

चिलिमे सुरुङभित्र फसेको अनुमान गरिएका ६ जनाको खोजी तथा उद्धारका क्रममा यसअघि पनि सुरुङभित्रबाट चिसो हावा आएको, हावाको दोहोरो बहाव देखिएको तथा आवाज पठाउँदा प्रतिध्वनि आएको जानकारी सार्वजनिक भएको थियो। यी संकेतले सुरुङभित्र कुनै खाली स्थान हुनसक्ने सम्भावनालाई बल पुर्‍याएको उद्धारमा संलग्न प्राविधिकहरूले बताएका छन्।

अहिले उद्धार टोलीको मुख्य चुनौती सुरुङमा थुप्रिएको लेदो, ढुंगा तथा अन्य अवरोध हटाउँदै अगाडि बढ्नु हो। पछिल्लो स्थानमा भेटिएको ठूला ढुंगा र पाइप हटाउने काम सफल भएमा टोली थप भित्र पुग्न सक्नेछ।

“सबैको सकारात्मक आशा र प्रार्थना कायम राखौँ,” न्यौपानेले आफ्नो अपडेटमा भनेका छन्।

तस्वीर : ई. श्रीराम न्यौपाने

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | १२:००:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया