सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारमा थप आशा : सुरुङमुख नजिकै एक्स्काभेटर, ६ जना जीवित हुने सम्भावना कायम

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | ०६:४८:२२ बजे
फाइल तस्वीर

काठमाडौं :  चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार प्रयास जारी रहँदा आयोजनास्थलमा रहेका इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रको पावरहाउस क्षेत्रमा मानिस जीवित रहने सम्भावना अझै रहेको बताएका छन्।

चिलिमे आयोजनास्थलबाट सार्वजनिक गरेको पछिल्लो जानकारीमा न्यौपानेले सुरुङको डिजाइन, संरचना, पावरहाउसको आकार तथा बाढीपछि सुरुङभित्र प्रवेश गरेको लेदोको अवस्थाको प्राविधिक विश्लेषणका आधारमा पावरहाउसको माथिल्लो भागमा खाली र सम्भावित सुरक्षित स्थान रहन सक्ने बताएका हुन्।

उनका अनुसार अस्थायी सडकलाई सुरुङको मुखसम्म पुर्‍याएर एक्स्काभेटर र ह्वील लोडरमार्फत राति पनि उद्धार कार्य सञ्चालन गर्ने योजना बनाइएको थियो। तर विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल तथा विस्फोटनसम्बन्धी कामका कारण सडक तत्काल सुरुङको मुखसम्म पुग्न सकेन।

यद्यपि थप दुईवटा एक्स्काभेटर आयोजनास्थल पुगेको र सडक सुरुङको मुखबाट करिब ४० मिटरको दूरीसम्म पुगेकाले उद्धार कार्यले थप गति लिने अपेक्षा गरिएको उनले बताएका छन्। नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले हातैले लेदो हटाउने, आवश्यक विस्फोटन गर्ने तथा सडक विस्तारको काम निरन्तर गरिरहेको छ।

न्यौपानेका अनुसार हाल सुरुङभित्र प्रतिसेकेन्ड करिब ९ लिटर पानी विभिन्न स्थानबाट चुहिएर आइरहेको छ। उक्त पानी सुरुङभित्र ठूलो मात्रामा थुनिएर दबाब सिर्जना भएको हुन सक्ने चिन्ता प्राविधिक छलफलमा उठाइएको थियो। तर उनले पावरहाउसको आकार, सुरुङभित्रको लेदोको अवस्था र टेलरेस सुरुङबाट निरन्तर सङ्लो पानी बाहिरिरहेको अवस्थाका आधारमा ठूलो मात्रामा पानी थुनिएको निष्कर्षमा पुग्न नसकिने बताएका छन्।

उनले बाढीका क्रममा तीव्र वेगमा सुरुङभित्र पसेको लेदो, ढुंगा, गिट्टी र बालुवाले पावरहाउसको हावालाई माथिल्लो भागतर्फ धकेलेको हुन सक्ने उल्लेख गरेका छन्। करिब ६० मिटर लामो, २० मिटर चौडा र २५ मिटर अग्लो पावरहाउसको माथिल्लो भागमा अधिकतम करिब ८ मिटरसम्म खाली स्थान रहन सक्ने उनको प्राविधिक विश्लेषण छ।

न्यौपानेका अनुसार उक्त पावरहाउस क्षेत्रमा ठूला ब्याट्री, भान्सा, चामल, दाल, चिनी, चियापत्ती तथा खानेपानीको व्यवस्था रहेको जानकारी प्राप्त भएको छ। करिब एक हजार लिटर क्षमताको खानेपानी ट्यांकीसमेत रहेको बताउँदै उनले त्यहाँसम्म मानिस पुग्न सकेको अवस्थामा जीवित रहने सम्भावनालाई नकार्न नहुने बताएका छन्।

उनले पावरहाउसको माथिल्लो भागमा बाढीका बेला थुनिएको हावाको अवस्था कायम रहेको भए त्यहाँ रहेका मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावना रहेको उल्लेख गरेका छन्। यद्यपि वास्तविक अवस्था उद्धार कार्य सम्पन्न भएपछि मात्रै यकिन हुने उनले बताएका छन्।

यसअघि धुन्चेमा प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर, नेपाली सेना, भारतीय सेनाका प्रतिनिधि तथा अन्य प्राविधिकबीच भएको छलफलमा उद्धारका क्रममा लेदो हटाउने र आवश्यक सावधानी अपनाउँदै विस्फोटन कार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको थियो।

न्यौपानेले उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भनेका छन्, “आशा जीवित छ। जीवनको सम्भावना रहँदासम्म उद्धारको प्रयास अन्तिम क्षणसम्म जारी राख्नुपर्छ।”

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | ०६:४८:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया