सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से सामान्य बढ्यो, कारोबार रकम ३ अर्ब ९३ करोड नाघ्यो

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | १५:२७:२५ बजे

 

काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले घटेको नेप्से यस दिन २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले उकालो लागेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ३५४ स्टकको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर ४३ हजार ८१२ पटकको कारोबारमार्फत खरिदबिक्री भएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता उक्त कम्पनीको शेयरतर्फ आकर्षित भएका हुन्।

त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। लक्ष्मी भ्यालु फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ को इकाईमूल्य पनि ६ प्रतिशतले बढेको छ।

कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड–२ को इकाईमूल्य भने यस दिन सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बिहीबार आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | १५:२७:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया