सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको पहिलो कारोबार दिन नेप्से २५ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड

जलसरोकार
सोमबार, भदौ २९, २०८३ | १५:१८:०२ बजे

 

काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ अंकभन्दा बढीले बढेर बन्द भएको छ। गत शुक्रबार बढेर बन्द भएको बजारले सोमबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५६ अंकले बढेको छ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकमसमेत बढेको छ। गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा १ करोड १५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसबाट ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ। त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत तथा सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।

यता, कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको सोमबार २४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

सोमबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

समग्रमा अधिकांश उपसमूहमा देखिएको सुधारसँगै नेप्सेमा खरिदचाप बढेको देखिएको छ। कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेपछि साताको पहिलो दिनको बजार उत्साहजनक रूपमा बन्द भएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २९, २०८३ | १५:१८:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया