नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै शेयर कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजारले शुक्रबार पनि वृद्धि कायम राख्दै लगानीकर्तालाई केही राहत दिएको छ।
शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले उकालो लागेको छ।
बजारमा परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएकोमा शुक्रबार ३५३ वटा कम्पनीका १ करोड २९ लाख ५ हजार कित्ता शेयर ५२ हजार ४४ पटकको कारोबारमा खरिदबिक्री भएका छन्। यसबाट कुल ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयरमूल्यमा सामान्य उतारचढाव देखिए पनि केही कम्पनीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीमध्ये अग्रस्थानमा रह्यो। कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ। अघिल्लो दिन बिहीबार भने कम्पनीको शेयर सकारात्मक सर्किट तहमा कारोबार भएको थियो।
त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। अर्कोतर्फ, शुक्रबार कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
उपसमूहगत प्रदर्शनमा पनि बजार सकारात्मक देखिएको छ। शुक्रबार नेप्सेमा रहेका सबै १३ वटै उपसमूहका परिसूचक बढेका छन्। तीमध्ये बैंकिङ उपसमूह सबैभन्दा बढी १.२८ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले बढेको छ। अन्य उपसमूहमा भने सामान्य वृद्धि देखिएको छ।
समग्रमा, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्दा बजारमा खरिदचाप बलियो देखिएको छ। सबै उपसमूह हरियो रहनु र कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्नुले शुक्रबारको बजारमा सकारात्मक माहोल बनेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो
-
मातातीर्थ-स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, दुई दिन विद्युत् आपूर्तिमा असर पर्न सक्ने
-
प्रसारण शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न इप्पानको माग
-
तनहुँमा बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षति, आवतजावतमा समस्या
-
बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, तरलताको चाप अझै उच्च