सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्‍यो

जलसरोकार
सोमबार, असोज १९, २०८३ | १५:२१:१७ बजे

 

काठमाडौँ : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २० अंकभन्दा बढीले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार घटेको बजारले सोमबार पनि गिरावटलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ।

मूल्य बढ्ने कम्पनीको सूचीमा भने अधिकांश ऋणपत्र परेका छन्। ‘टप गेनर्स’को शीर्ष १० मा रहेका स्टकमध्ये १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य पनि करिब ५ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएको त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ बराबर र शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये सोमबार एउटा उपसमूहको परिसूचक मात्र बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा वित्त उपसमूह सर्वाधिक १.१० प्रतिशतले घटेको छ।

त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत् र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्। बजारमा बिक्री चाप बढ्दा समग्र नेप्से परिसूचकसँगै कारोबार रकमसमेत खुम्चिएको छ।

 

 

प्रकाशित मिति : सोमबार, असोज १९, २०८३ | १५:२१:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया