सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईलाई नेपालको प्रस्ताव

जलसरोकार
आइतबार, कात्तिक ३०, २०८३ | ०९:२७:४१ बजे

 

काठमाडौँ : नेपालले बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) लाई औपचारिक प्रस्ताव गरेको छ।

युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र युएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीबीच आबुधाबीमा भएको शिष्टाचार भेटवार्तामा बूढीगण्डकीसहित विभिन्न क्षेत्रमा लगानी र सहकार्यको प्रस्ताव अघि सारेका हुन्।

भेटमा गृहमन्त्री गुरुङले नेपालमा कृषि तथा सेवा क्षेत्रको विकासका लागि युएईको लगानी र सहकार्य आवश्यक रहेको बताउँदै सुरक्षा प्रविधिमा समेत सहकार्य गर्न प्रस्ताव गरेकाे उनकाे सचिवालयले जनाएको छ।

नेपाल र युएईबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो। भेटमा नेपालको सुरक्षा निकायलाई आधुनिक र प्रविधिमैत्री बनाउने विषयले समेत प्राथमिकता पाएको जनाइएको छ।

नेपालले प्रस्ताव गरेका परियोजना तथा सहकार्यका विषयमा औपचारिक रूपमा प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। साथै, आगामी दिनमा नेपाल–युएईबीच आर्थिक तथा प्राविधिक सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी भित्र्याउने नेपालको प्रस्तावलाई ऊर्जा क्षेत्रमा विदेशी लगानी विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखि चर्चामा रहेको यस आयोजनालाई अघि बढाउन ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालले अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्ने प्रयास गर्दै आएको छ।

गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। सोही भ्रमणका क्रममा उहाँले युएई सरकारका उच्च अधिकारीसँग नेपालका विकास परियोजना, लगानी, आर्थिक सहकार्य तथा सुरक्षा प्रविधिसम्बन्धी विषयमा छलफल गरेका हुन् । 

प्रकाशित मिति : आइतबार, कात्तिक ३०, २०८३ | ०९:२७:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया