पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढ्यो, निर्यातमा झन्डै ४४ प्रतिशत उछाल
जलसरोकार
काठमाडौं : चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा (साउन-पुस) नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। भन्सार तथ्यांकअनुसार यो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ रहेको कुल वैदेशिक व्यापार चालू आर्थिक वर्षको सोही अवधिमा बढेर १० खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
यस्तै, आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।
निर्याततर्फ भने उल्लेखनीय सुधार देखिएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो।
यससँगै व्यापार घाटा पनि बढेको छ। पहिलो छ महिनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ थियो।
आयात–निर्यात अनुपात (Imports/Exports Ratio) अघिल्लो वर्षको ८.३२ बाट घटेर ६.६१ मा झरेको छ, जसले निर्यातको सापेक्षिक सुधारलाई संकेत गर्छ। कुल व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशत मा सीमित भएको छ।
निर्यातमा देखिएको उच्च वृद्धिले दीर्घकालमा व्यापार घाटा नियन्त्रणमा सहयोग पुर्याउन सक्ने संकेत दिएको भए पनि आयातको उच्च परिमाण अझै चुनौतीको रूपमा कायम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता