सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | ११:५४:३८ बजे

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार (भदौ २४ गते) ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ। यसका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत बोल पेस गर्नुपर्नेछ। निक्षेप संकलन उपकरण पनि आजै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकका अनुसार सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकम ५५ अर्ब रुपैयाँसम्म बोल पेस गर्न सक्नेछन्। ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ र बहुब्याजदरमा बोल पेस गर्न सकिनेछ।

रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ।

निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। उक्त निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

उपकरणको अवधि पूरा हुनुअघि रकम फिर्ता भुक्तानी नहुने राष्ट्र बैंकले जनाएको छ। बोलपत्र स्वीकृत भएर पनि तोकिएको दिन खातामा पर्याप्त मौज्दात नराख्ने संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइनेसमेत राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | ११:५४:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया