चिलिमे उद्धारमा नेपाली-भारतीय सेना सक्रिय, खराब मौसमका कारण २० उद्धारकर्मी मुख्य सुरुङमै रोकिए
जलसरोकार
काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनामा सम्पर्कविहीन रहेका कर्मचारीको खोज तथा उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली सक्रिय रूपमा परिचालन भएको छ। चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबु महर्जनका अनुसार उद्धारमा नेपाली सेना र भारतीय सेनाको टोलीले संयुक्त रूपमा काम गरिरहेका छन्।
तर बुधबार साँझ खराब मौसमका कारण उद्धारमा खटिएका १३ जना नेपाली सेना र ७ जना भारतीय सेनाका सदस्य मुख्य पहुँच सुरुङमै रोकिएकाे उनले बताए। प्रतिकूल मौसमका कारण उनीहरू सुरुङबाट बाहिर निस्कन नसकेको पनि महर्जनले जानकारी दिएका छन्।
चिलिमे क्षेत्रमा सम्पर्कविहीन रहेका कर्मचारीको खोजीका लागि नेपाली सेनासँगै भारतीय सेनाको प्राविधिक तथा उद्धार टोलीसमेत परिचालन भएपछि उद्धार प्रयासलाई थप प्राविधिक र समन्वित बनाइएको छ।
मुख्य पहुँच सुरुङ आयोजनाको भूमिगत संरचनातर्फ पुग्ने प्रमुख मार्ग भएकाले उद्धार टोलीले यही मार्गबाट सम्भावित स्थानसम्म पुग्ने प्रयास गरिरहेको छ। तर बाढीपछि सुरुङ क्षेत्रमा जमेको पानी, लेदो, ढुंगा तथा अन्य अवरोधसँगै पछिल्लो समयको प्रतिकूल मौसमले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ।
तर चिलिमे उद्धारमा डोजरलगायतका ठूला उपकरण अझै मुख्य सुरुङभित्र पुर्याइएको छैन। केही साना औजार तथा आवश्यक उपकरण भने सुरुङभित्र पुर्याइएको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए। ‘अहिलेसम्म डोजरलगायतका ठूला उपकरण पुर्याइएको छैन, केही साना औजार तथा आवश्यक उपकरण भने सुरुङभित्र पुर्याइएको छ,’ उनले भने।
चिलिमे जलविद्युत् आयोजनामा बाढीपहिरोपछि सम्पर्कविहीन रहेका कर्मचारीको अवस्थाबारे परिवारजनमा गहिरो चिन्ता कायम छ। उनीहरूको खोजीका लागि नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सुरक्षा निकाय तथा विभिन्न प्राविधिक टोलीले प्रयास गरिरहेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले समेत मंगलबार सम्पर्कविहीनका परिवारजनसँग भेट गरी अन्तिम सम्भावनासम्म खोजी तथा उद्धार प्रयास जारी राख्ने र अझै आशा मार्ने बेला नभएको बताएका थिए।
पछिल्लो समय उद्धारमा नेपाली तथा भारतीय सेनाको टोलीसमेत परिचालन हुनु र मुख्य पहुँच सुरुङमार्फत खोजीलाई अघि बढाइनुले चिलिमेमा उद्धार अभियान थप तीव्र बनाउने प्रयास भइरहेको देखिन्छ। यद्यपि खराब मौसमका कारण उद्धार टोलीमै अवरोध उत्पन्न भएपछि मौसम अनुकूल हुनु पनि अहिलेको अभियानका लागि महत्वपूर्ण बनेको छ।
सीईओको पछिल्लो जानकारीअनुसार अहिलेको प्राथमिकता सुरुङभित्र रहेका उद्धार टोलीको सुरक्षित व्यवस्थापनसँगै मौसम अनुकूल भएपछि खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिनु हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा नेपाली-भारतीय सेना सक्रिय, खराब मौसमका कारण २० उद्धारकर्मी मुख्य सुरुङमै रोकिए
-
भोटेकोशी विपद्पछि विद्युत् नियमनको नयाँ पहल, दक्षिण एसियाली ‘विपद् प्रतिरोधी विद्युत् नियमन’ कार्यदलको नेतृत्व नेपालले गर्ने
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा निर्णायक प्रगति : सात ठूला ढुंगा विस्फोट गरी हटाइयो, अब १६० मिटर बाँकी
-
ऊर्जा क्षेत्रका तीन निकायबाट उद्धार कोषमा २ करोड १२ लाख रुपैयाँ सहयोग
-
नेप्से १५ अंकले बढ्यो, कारोबार रकम पनि सामान्य वृद्धि
-
चिलिमेमा सम्पर्कविहीनका परिवारलाई ऊर्जा मन्त्रीको भरोसा : ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ, आशा नमार्नुहोस्’