सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

घरजग्गा कारोबारबाट असारमा झण्डै १२ अर्ब राजस्व, आव २०८२/८३ कै उच्च सङ्कलन

जलसरोकार
सोमबार, साउन ०४, २०८३ | ०९:००:११ बजे

 

काठमाडौं : घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ मा एकै महिनामा सङ्कलन भएको सबैभन्दा ठूलो राजस्व हो।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व सङ्कलन भएको थियो, जुन उक्त आर्थिक वर्षको दोस्रो उच्च राजस्व सङ्कलन हो।

आर्थिक वर्षको सुरुआती महिनामा भने घरजग्गा कारोबारबाट प्राप्त राजस्व तुलनात्मक रूपमा कम रहेको देखिन्छ। विभागका अनुसार साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ र भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ राजस्व सङ्कलन भएको थियो।

असोज र कात्तिकमा राजस्व सङ्कलन थप घटेको थियो। असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ तथा कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबर रकम सरकारी खातामा जम्मा भएको थियो।

त्यसपछि मङ्सिरदेखि कारोबारमा क्रमशः सुधार देखिएको विभागको तथ्याङ्कले देखाएको छ। मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२, माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ राजस्व सङ्कलन भएको थियो।

यस्तै, चैतमा रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व प्राप्त भएको विभागले जनाएको छ।

विशेषगरी असार महिनामा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेपछि राजस्व सङ्कलनमा पनि ठूलो वृद्धि भएको देखिएको छ। आगामी साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत घोषणा गरिएकाले कर वृद्धि लागू हुनुअघि नै धेरै कारोबार सम्पन्न भएको अनुमान गरिएको छ।

विभागका अनुसार यही कारण असार महिनामा राजस्व सङ्कलनले नयाँ उचाइ हासिल गरेको हो। कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछिको अवधिमा घरजग्गा कारोबारबाट एकै महिनामा सङ्कलन भएको यो सबैभन्दा ठूलो राजस्व रकम भएको विभागको भनाइ छ।

प्रकाशित मिति : सोमबार, साउन ०४, २०८३ | ०९:००:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया