त्रिशूली थ्री–ए सुरुङमा थप मानिसको उद्धारमा खटिए विद्युत् प्राधिकरणका प्राविधिक टोली
जलसरोकार
काठमाडौं : माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप मानिसको खोजी तथा उद्धारका लागि नेपाली सेनासँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी पनि सुरुङभित्र प्रवेश गरेका छन्।
जमिनमुनि रहेको विद्युत् गृहमा खोजी तथा उद्धारका लागि सम्भावित ठाउँ पहिचान गर्न प्राधिकरणका प्राविधिकहरू सेनासँगै सुरुङमा प्रवेश गरेका हुन्। भूमिगत विद्युत् गृहमा अझै ठूलो संख्यामा मानिस रहेको अनुमान गरिएकाले उनीहरू कहाँ बसेका हुन सक्छन् भन्ने सम्भावित स्थान पत्ता लगाउन प्राविधिक टोली परिचालन गरिएको प्राधिकरण स्रोतले जनाएको छ।
निरन्तरको प्रयासपछि शुक्रबार बिहान आयोजनाको हिलो भरिएको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारकर्ताले सुरुङभित्रबाट एउटा शवसमेत निकालेका छन्। तर, आयोजनामा अझै ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको हुनसक्ने अनुमान प्राधिकरणको छ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार जीवितै उद्धार गरिएका प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जनको नेपाली सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।
उद्धार गरिएका दुवै जनालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुरुङबाट बाहिर निकालेको हो। सुरुङभित्रबाट निकालिएको शवको भने अझै पहिचान हुन बाँकी रहेको ओझाले बताए ।
प्राधिकरणका अनुसार सुरुङमा फसेका मानिसमध्ये सबैभन्दा धेरै विद्युत् गृहमा नै रहेको अनुमान गरिएको छ। त्यसैले उद्धार टोलीले विद्युत् गृहभित्र सम्भावित रूपमा मानिसहरू रहेका स्थान पहिचान गरी खोजीलाई तीव्रता दिएको छ।
हिलोले भरिएको सुरुङमा लामो समयदेखि जारी उद्धार प्रयासपछि दुई जनालाई जीवितै निकाल्न सफल भए पनि अझै ठूलो संख्यामा मानिस फसेको अनुमान रहेकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली थ्री–ए सुरुङमा थप मानिसको उद्धारमा खटिए विद्युत् प्राधिकरणका प्राविधिक टोली
-
महाकाली सन्धि : पञ्चेश्वरको अधुरो सपना र लुकेको स्वार्थ
-
ह्याप्पी इनर्जीद्वारा विपद् उद्धार कोषमा २० लाख सहयोग
-
उद्धार गरिएका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य
-
बाढीका कारण ढुवानी भाडा बढ्यो, काठमाडौंमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै