सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

जलसरोकार
बिहीबार, भदौ २५, २०८३ | ११:२३:४९ बजे

 

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी जैसीलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

महेन्द्र राजमार्गअन्तर्गत कोटधारामा निर्माण भइरहेको पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार जोखिमपूर्ण रूपमा नजिक पुगेको अवस्थामा नुहाएर घर फर्कने क्रममा रश्मीले विद्युत्को तार छुन पुगेकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

दुर्घटनाका कारण रश्मी पूर्ण अंगभंग भएकी छन् । उनको उपचारमा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो । प्राधिकरणले उपचारका लागि यसअघि नै तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो ।

नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार उपचार तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको हो । सोही आधारमा सञ्चालक समितिले कुल १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत स्वीकृत गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार यसअघि उपचारका लागि उपलब्ध गराइएको तीन लाख रुपैयाँ पेश्की कट्टा गरी बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ रश्मीलाई क्षतिपूर्ति तथा राहतबापत भुक्तानी गरिनेछ ।

क्षतिपूर्ति रकम स्वीकृत गर्दा दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार गठित समितिको निर्णय, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस तथा प्राधिकरणको मेडिकल बोर्डको २०८३ साउन २१ गतेको निर्णयलाई आधार बनाइएको प्राधिकरणले जनाएको छ ।

मेडिकल बोर्डले रश्मी पूर्ण अंगभंग भएको पुष्टि गरेपछि उपचारसम्बन्धी बिल, प्रेस्क्रिप्सनलगायतका कागजातका आधारमा राहत तथा क्षतिपूर्ति रकम स्वीकृत गरिएको हो ।

प्रकाशित मिति : बिहीबार, भदौ २५, २०८३ | ११:२३:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया