प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
जलसरोकार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले ऊर्जा क्षेत्रको विकासलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रसँग सहकार्य गर्न प्राधिकरण पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा मात्र सीमित नरही प्रसारण लाइन निर्माणमा समेत लगानी गर्न आह्वान गरेका छन्।
विद्युत् विकास विभागको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सँग सहकार्य गर्न नेपाल विद्युत् प्राधिकरण सकारात्मक रहेको बताए।
"इप्पानका समस्या र सरोकारप्रति प्राधिकरण सकारात्मक छ," उनले भने, "आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनेछौँ।"
उनले विद्युत् विकास विभागले ३३ वर्षको अवधिमा हासिल गरेका उपलब्धिले नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। नेपाल विद्युत् उत्पादनमा क्रमशः आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै उनले त्यसमा निजी क्षेत्रको योगदान निर्णायक रहेको धारणा व्यक्त गरे।
श्रेष्ठले वर्षायाममा विद्युत् आपूर्ति व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै गएको बताउँदै नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (Joint Steering Committee–JSC) बैठकमा नेपालबाट भारततर्फ विद्युत् निर्यात उल्लेखनीय रूपमा वृद्धि गर्ने विषयमा सहमति भएको जानकारी दिए।
उनका अनुसार नेपालको प्राथमिकता देशभित्र विद्युत्को अधिकतम खपत बढाउने र त्यसपछि बाँकी रहने विद्युत् मात्र निर्यात गर्ने हो। त्यसका लागि प्रसारण प्रणालीको विस्तार सबैभन्दा महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्दै उनले प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।
"प्रसारण लाइन निर्माणमा निजी क्षेत्र पनि अघि आउनुपर्छ," श्रेष्ठले भने, "उत्पादनसँगै प्रसारण पूर्वाधारमा पनि निजी क्षेत्रको लगानी आवश्यक छ।"
उनले ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले