सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह

जलसरोकार
मंगलबार, साउन ०५, २०८३ | १३:१७:४४ बजे

काठमाडौं । वर्षायाममा बाढी, पहिरो, हुरीबतासलगायत प्राकृतिक विपद्का कारण विद्युत् सेवा प्रभावित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका वितरण कार्यालयलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले वर्षायामभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न कुनै पनि अवस्थामा सेवा प्रभावित हुन नदिन आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका हुन्।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखसँग भएको उच्चस्तरीय समीक्षा तथा निर्देशन बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले सम्भावित विद्युत् अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति, उपकरण तथा मर्मत सामग्री हरबखत तयारी अवस्थामा राख्न निर्देशन दिए।

उनले सेवाग्राहीका गुनासोको तत्काल सुनुवाइ गरी शीघ्र समाधान गर्न, योजनाबद्ध लाइन अवरोध वा आकस्मिक मर्मतका अवस्थामा सकेसम्म पूर्वसूचना दिएर उपभोक्तालाई सुसूचित गर्न तथा सेवा प्रवाहलाई थप उत्तरदायी र पारदर्शी बनाउन पनि प्रदेश कार्यालयहरूलाई निर्देशन दिएका छन्।

कार्यकारी निर्देशक श्रेष्ठले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण विद्युत् पूर्वाधारमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै २४सै घण्टा तयारी अवस्थामा रहन, प्रदेशभित्र सञ्चालित आयोजना तथा वितरण प्रणालीका कामको नियमित अनुगमन गर्न, देखिएका समस्या तत्काल समाधान गर्न तथा सम्बन्धित निर्देशनालयसँग प्रभावकारी समन्वय गरी आयोजना कार्यान्वयनलाई तीव्रता दिन पनि निर्देशन दिएका छन्।

बैठकमा कर्मचारीको क्षमता अभिवृद्धि, सीप विकास तथा वृत्ति विकासका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तालिमको आवश्यकता पहिचान गरी प्रस्ताव पेस गर्न पनि प्रदेश कार्यालयलाई आग्रह गरिएको छ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गरिने तथा सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई प्रचलित नियमअनुसार कारबाही गरिने स्पष्ट पारे। उनले परिणाममुखी कार्यसम्पादन, अनुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न प्रदेश कार्यालयहरूलाई निर्देशन दिए।

बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने सम्भावित प्रभाव, ग्राहक सेवा प्रवाह, प्रदेशस्तरमा सञ्चालित आयोजना तथा वितरण प्रणालीको कार्यप्रगतिको समीक्षा गरिएको थियो।

प्रकाशित मिति : मंगलबार, साउन ०५, २०८३ | १३:१७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया