नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
जलसरोकार
काठमाडौं : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुलको निर्माण कार्य पूरा भएको छ । नवलपुर क्षेत्रमा पर्ने ३४ पुलमध्ये अरुणखोला पुल मात्र अन्तिम चरणमा रहेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा २५ मिटर लम्बाइसम्मका २२ साना पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३३ वटा पुल बन्न सफल भएको आयोजनाले जनाएको छ । अरुणखोला, गिरुवारी खोला र विनयी खोलामा दुई सय मिटरभन्दा लामो पुल निर्माणको योजनाअन्तर्गत अरुणखोला पुल मात्र बाँकी रहेको र उक्त पुल पनि छिट्टै सम्पन्न हुने अधिकारीले बताए ।
कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुवारी खोलामा एप्रोच सडक निर्माण भइरहेकाले केही दिनमै ती पुलमार्फत सवारी आवागमन सुरु हुने बताइएको छ । दाउन्ने क्षेत्रमा भने केही कल्भर्ट निर्माणका काम अन्तिम चरणमा रहेका छन् ।
सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रे कार्य सम्पन्न भएकाले यात्रा सहज बनेको छ भने दाउन्ने क्षेत्रमा अझै ढलान र अन्य संरचना निर्माण जारी छन् ।
२०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी काम सुरु गरिएको परियोजनाको म्याद समयमै काम नसकिँदा २०८३ असारसम्म चौथोपटक थपिएको छ। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडकको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
एक सय १३ किलोमिटर लम्बाइको यस सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटर सर्भिस लेन र दाउन्ने खण्डका १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माणको योजना रहेको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ
-
लाङटाङ खोला जलविद्युत् आयोजनाले छिट्टै व्यावसायिक उत्पादन गर्दै