मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट
जलसरोकार
काठमाडौं– आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ ।
सो जलाशयमा तत्काल १ करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।
जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
कम्पनीले थप तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सो कम्पनीका सञ्चालक ढकालले जानकारी दिए ।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति २५०, १० देखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ, १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ ताकिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
-
देशभर बदली र वर्षा, कोशी-बागमती-गण्डकीसहित लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
-
रु. ४५८ को सेयर रु. १०० मा किन्न पाइने प्रस्ताव, सगरमाथा जलविद्युत्को १:१ हकप्रदमा लगानीकर्ताको आकर्षण
-
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
-
घाटा अहिलेको वास्तविकता, आयोजना भविष्यको आशा : सीमित सेयर आपूर्तिले पनि बलियो बनाउँदै त्रिशूली जलविद्युत्को आकर्षण
-
सुन–चाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला ३ लाख नाघ्यो