कोरला नाकाबाट दुई हजारभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिए
जलसरोकार
काठमाडौं : नेपाल–चीन सीमामा रहेको कोरला नाकाबाट चार महिनाको अवधिमा रु ११ अर्ब एक करोड ९५ लाख बराबरको मालवस्तु निकासी–पैठारी भएको छ । गत भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट पुस १० गतेसम्म उक्त परिमाणको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार सो अवधिमा चीनबाट नेपालतर्फ रु १० अर्ब ८२ करोड ९८ लाख बराबरको मालवस्तु भित्रिएको छ । नेपालबाट हस्तकला लगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु जाँचपास भई चीनतर्फ निकासी भएको छ ।
कोरला नाकाबाट हालसम्म दुई हजार ७४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । यसै महिनादेखि थप चिनियाँ विद्युतीय सवारीसाधन आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । बिवाइडी कम्पनीले मात्रै पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन कोरला नाकाबाट नेपाल ल्याइरहेको र तीमध्ये ३०० भन्दा बढी सवारीसाधन जाँचपास भई गन्तव्यतर्फ पठाइसकिएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।
निकासी–पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट हालसम्म रु पाँच अर्ब छ करोड ६२ लाख राजस्व सङ्कलन भएको छ । नेपाली बजारमा विद्युतीय सवारीको माग बढ्दै गएपछि पछिल्लो समय विभिन्न कम्पनीहरूले चीनमा उत्पादित विद्युतीय सवारीसाधन कोरला नाकाबाट आयात गर्न थालेका हुन् । इन्धन बचत र कार्बन उत्सर्जन न्यूनीकरणका दृष्टिले उपयोगी मानिने यस्ता सवारीसाधनमा सरकारले भन्सार सहुलियत दिएको कारण माग थप बढेको बताइएको छ ।
हिउँदयामको प्रतिकूल मौसमका बाबजुद पनि कोरला नाकाबाट आयात–निर्यात गतिविधि रोकिएको छैन । समुद्री सतहबाट ४६१० मिटर उचाइमा रहेको कोरला नाकामा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म झर्ने गरेको छ । यस्तो मौसममा पनि चीनतर्फबाट मालवस्तु र विद्युतीय सवारीसाधन निरन्तर भित्रिँदा नाकाको चहलपहल बढेको देखिएको छ ।
कोरला नाकाबाट जाँचपास भएका विद्युतीय सवारीसाधन जोमसोम हुँदै पोखरासम्म चालकहरूले पु¥याउने गरेका छन् । पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीका शोरुमसम्म सवारीसाधन पु¥याउने व्यवस्था छ । यसअघि चिनियाँ भन्सारबाट सीमापार पास प्राप्त चालकले सवारीसाधन नेपालतर्फ निकाल्ने काम गर्छन् ।
नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेसँगै बेनी–जोमसोम–कोरला सडक खण्डमा सञ्चालनमा रहेका विद्युतीय ‘चार्जिङ स्टेसन’हरू समेत व्यस्त बनेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका बासिन्दा बेँसी झरे पनि कोरला नाकाबाट हुने आयात–निर्यात कारोबार भने निरन्तर चलायमान रहेको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा वर्षौंदेखि थन्किएको २४ लाखभन्दा बढी धरौटी रकम लिन ३५ दिने समयसीमा
-
देशभित्र बिजुली खपत बढाउने कुरा नारा होइन, राज्य-क्षमताको परीक्षा हो
-
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
-
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
-
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
-
बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा