देशैभर फैलियो मनसुन, धानरोप्न लागे किसान
जलसरोकार
काठमाडौं – ढिलोगरी नेपाल भित्रिएको मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो ।
तर मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले बताएको छ ।
मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘हावा चलिरहेको छ तर बिहीबार वा शुक्रबारदेखि मात्र केही राम्रो वर्षा हुने देखिएको छ,’ उनले भने । अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको छ । यो वर्ष साउनको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने पूर्वानुमान छ ।
अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्ने किसानमा खुसी छाएको छ । कतिपय भेगमा असारे धान रोप्ने बेलासम्म पनि वर्षा नहुँदा किसान आक्रान्त बनेका थिए । खेतमा पानी नहुँदा धानको ब्याड जोगाउन र हुर्काउन किसानलाई हम्मे हम्मे परेको थियो । पूर्व, मध्य र गण्डकीसम्म भने थोरै थोरै भए पनि वर्षा भएकाले धानको बिउ हुर्किएको थियो ।
कतिपय स्थानमा ढिला भए पनि सुख दुःख गरेर किसानले बिउ हुर्काएका स्थानमा धान रोप्ने चटारो सुरु भएको कृषि मौसमविद् रामेश्वर रिमालले बताए । ‘विशेष गरी अघिल्लो साता बढी वर्षा पूर्व, मध्य र गण्डकीमा भयो,’ उनले भने, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सिँचाइ भएकाले छिटो बिउ राखे, पानी पर्ने आसमा अधिकांशले ढिलो बिउ राखे । बिउ नै ढिला राखेकाले साउनसम्म धान रोप्न भ्याउने छन् ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना