मौद्रिक नीतिको समीक्षा : पर्यटन, जलविद्युत् र विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र उज्यालोतर्फ
जलसरोकार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको कार्यान्वयन स्थिति समीक्षा प्रतिवेदन अनुसार देशको समग्र आर्थिक तथा वित्तीय संकेतकहरू सुधारको दिशामा देखिएका छन्। प्रतिवेदनले जेन–जी आन्दोलनपछि बनेको सरकारले सुशासन मजबुत बनाउँदै व्यावसायिक वातावरण सुधार गर्न थालेपछि आर्थिक क्रियाकलाप क्रमशः गतिशील बन्दै गएको उल्लेख गरेको छ। मौद्रिक सहजताले समेत यसमा सहयोग पुर्याएको बैंकको निष्कर्ष छ।
अन्तर्राष्ट्रिय साख रेटिङ यथावत्
अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सीले नेपालको सार्वभौम साख रेटिङ गत वर्षकै स्तर B– (स्थिर) मा निरन्तरता दिएको प्रतिवेदनमा उल्लेख छ। यसले नेपालको अर्थतन्त्रप्रति अंतर्राष्ट्रिय समुदायको भरोसा कायम रहेको संकेत गरेको बैंकको मूल्यांकन छ।
पर्यटनमा सुधार, जलविद्युत् क्षमतामा थप वृद्धि
जेन–जी आन्दोलनका क्रममा केही होटलमा क्षति भए पनि शान्ति–सुरक्षा सुदृढ भएर पर्यटकको विश्वास बढेको प्रतिवेदनमा उल्लेख छ। नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को दस महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएका थिए भने २०२५ को सोही अवधिमा संख्या करिब ९ लाख ४४ हजार पुगेको छ।
यस्तै, जलविद्युत् उत्पादनमा उल्लेख्य प्रगति भएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ३०९.२ मेगावाट विद्युत् अतिरिक्त रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
खर्च व्यवस्थापनमा कडाइ, तर कृषि क्षेत्रमा मनसुनको असर
सरकारले चालु खर्च नियन्त्रण गर्दै अपूरा र साना आयोजना कटौती गरी राष्ट्रिय प्राथमिकता प्राप्त र सम्पन्न हुने चरणमा पुगेका आयोजनामा स्रोत केन्द्रित गरेको छ। यसले दीर्घकालीन आर्थिक प्रभाव सकारात्मक हुने बैंकको अनुमान छ।
तर मनसुन ढिलो सुरु हुनु र पछि भारी वर्षा भएकाले धानसहित वर्षे बालीहरू प्रभावित बनेका छन्। यसले समग्र आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक आकंलन प्रस्तुत गरिएको छ।
मुद्रास्फीति ४ प्रतिशत हाराहारी रहने अनुमान
भारतमा मुद्रास्फीति लक्ष्यभन्दा कम स्तरमै रहँदै आएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा सहजता आउने अनुमान भए पनि आन्तरिक उत्पादनमा केही गिरावट र आगामी निर्वाचनका खर्चका कारण मुद्रास्फीतिमा केही दबाब देखिएको छ। फलस्वरूप २०८२/८३ मा औसत मुद्रास्फीति ४ प्रतिशत आसपास रहने प्रक्षेपण गरिएको छ।
विप्रेषण प्रवाह मजबुत, विदेशी मुद्रा सञ्चिति सहज
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ र विप्रेषण प्रवाह आयातको तुलनामा उच्च रहेकाले विदेशी विनिमय सञ्चिति आर्थिक वर्षको बाँकी अवधि पनि सहज रहने बैंकको आकलन छ।
बैंकिङ क्षेत्रमा अत्यधिक तरलता, ब्याजदर घट्दो
बैंकिङ क्षेत्रमा हाल पनि अत्यधिक तरलता देखिएको छ भने कर्जा तथा निक्षेपका भारित औसत ब्याजदर निरन्तर घट्दै आएका छन्। यद्यपि वास्तविक ब्याजदर भने अझै धनात्मक रहेको बैंकले जनाएको छ। निष्क्रिय कर्जा (NPL) बढ्दो भए पनि पुँजी पर्याप्तता अनुपात न्यूनतम सीमा भन्दा माथि छ।
मौद्रिक नीति: सजगतापूर्ण लचिलो धारणा निरन्तर
मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति तथा वित्तीय क्षेत्रको अवस्थालाई समग्र रूपमा मूल्यांकन गर्दै, नेपाल राष्ट्र बैंकले २०८२/८३ को मौद्रिक नीतिमा अवलम्बन गरिएको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ। केही नियामकीय व्यवस्थामा भने आवश्यक परिमार्जन गरिएको बैंकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : पर्यटन, जलविद्युत् र विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र उज्यालोतर्फ
-
मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
-
नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
-
शेयर बजारमा फेरि दबाब: सुस्त कारोबारसँगै नेप्से झर्यो
-
मुद्रास्फीति नियन्त्रणदेखि विदेशी मुद्रा सञ्चिति मजबुत
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण