नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै


काठमाडौँ,: नेपाल, भारत र बङ्गलादेशबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो ।
नेपाल र भारतबीच मङ्गलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको १२ सदस्यीय टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारणलाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।
यही माघ ९ गते नेपाल र भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात तथा निर्यातलाई थप सहज बनाउने सहमति भएको थियो । सोही सहमति दुई देशबीचका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
उक्त बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना र अन्तरदेशीय विद्युत् आयात–निर्यातका विषयमा छलफल भएको थियो ।
नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ ।
दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहनेछ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत शेयर स्वामित्व अर्को देशको रहने व्यवस्था हुनेछ ।
यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर सन् २०२५ सम्म सम्पन्न गरिने सहमति भएको छ । यस्तै, ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट बढाएर एक हजार मेगावाट पु¥याउने बताइएको छ ।
यस्तै सन् २०३५ सम्ममा ४०० केभीका निजगढ–मोतिहारी र कोहलपुर–लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहमति भएको छ । उक्त सहमतिलाई दुई देशबीचको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म १५ हजार विद्युत् विदेशमा निर्यात गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता प्रसारण लाइन निर्माण सम्झौताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा थप विद्युत् निर्यात गर्नेगरी अन्तरदेशीय प्रसारण लाइनको संरचना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
यसअघि नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट निर्यातका लागि दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छभने बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
(रासस)
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक