सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

जलसरोकार
सोमबार, माघ २६, २०८२ | १२:४६:४२ बजे

काठमाडौं : नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान-प्रदानका विषयमा छलफल भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अलि अल अन्सारीबीच भएको भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्ली तथा कतार एयरवेजका प्रतिनिधि पनि सहभागी थिए।

भेटघाटमा नेपाल-कतार आर्थिक सहकार्य विस्तार, पर्यटन प्रवर्द्धन, हवाई उडान वृद्धि तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको छ।

विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको बताइएको छ।

छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताए। साथै उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी गराए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल-कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताए। उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक अवसरहरू रहेको उल्लेख गरे।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतारको निजी क्षेत्रको चासो रहेको बताउँदै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

उक्त भेटघाटले नेपाल-कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कतारी प्रतिनिधिमण्डल नेपाल-कतार संयुक्त व्यवसाय परिषद् (JBC) बैठकका लागि नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा हिजो नेपाल आएको हो।

प्रकाशित मिति : सोमबार, माघ २६, २०८२ | १२:४६:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया