जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मातातीर्थ सब–स्टेसन र मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइनको आज उद्घाटन हुने

जलसरोकार
आइतबार, वैशाख १६, २०८१ | ११:१७:५३ बजे

 

काठमाडौं–  उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुने भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०÷१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभीए छ ।

मर्स्याङ्दी नदीजलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नै मार्कीचोकमा २२०÷१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ ।

त्रिशूली नदीजलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत काठमाडौं उपत्यकामा छिर्न सक्छ ।

मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने छ । मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : आइतबार, वैशाख १६, २०८१ | ११:१७:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया