सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा निर्णायक प्रगति : सात ठूला ढुंगा विस्फोट गरी हटाइयो, अब १६० मिटर बाँकी

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १७:००:४७ बजे
तस्वीरहरु : इन्जिनियर श्रीराम न्यौपाने

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा निर्णायक प्रगति : सात ठूला ढुंगा विस्फोट गरी हटाइयो, अब १६० मिटर बाँकी

काठमाडौँ : माथिल्लो माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत पावरहाउसमा सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोज तथा उद्धारमा महत्वपूर्ण प्रगति भएको छ। सुरुङको मुखमा अप्रत्याशित रूपमा भेटिएका सातवटा ठूला र कडा ढुंगा विस्फोट गरी हटाइएको छ। अब विस्फोटबाट निस्किएको ढुंगा तथा सुरुङभित्रको लेदो हटाउँदै पावरहाउसतर्फ अघि बढ्ने काम भइरहेको छ।

उद्धारमा संलग्न सुरुङ विशेषज्ञ इन्जिनयर श्रीराम न्यौपानेका अनुसार  गएको रातभर सुरुङमा जमेको पानी निकालिएपछि सुरुङको मुखमा रहेका सातवटा ठूला कडा ढुंगा विस्फोट गरेर हटाइएको हो। अहिले विस्फोटबाट निस्किएका ढुंगा सफा गर्दै सुरुङभित्र तल झर्ने र सतह सम्याउने काम भइरहेको छ।

सुरुङभित्र जम्मा भएको लेदो बाहिर निकाल्न ह्विल लोडर र मिनी एक्स्काभेटर तयारी अवस्थामा राखिएका छन्। यी उपकरण प्रयोग गरेर सुरुङभित्रको लेदो तथा अन्य अवरोध हटाउँदै उद्धार टोली पावरहाउसतर्फ अघि बढ्ने न्यौपानेले जलसरोकारलाई बताए।

सबैभन्दा महत्वपूर्ण प्रगति भनेको अब पावरहाउससम्मको दूरी पनि स्पष्ट हुनु हो। न्यौपानेका अनुसार सुरुङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि पावरहाउस पुगिनेछ। उनले पावरहाउसलाई मात्र सुरक्षित स्थानका रूपमा लिन सकिने बताएका छन्।

यो प्रगति केही दिनयता जलसरोकारले निरन्तर रिपोर्ट गर्दै आएको उद्धार अभियानकै अर्को महत्वपूर्ण चरण हो। यसअघि उद्धार टोली केबल डक्ट टनेलको मुखसम्म पुगेको थियो। त्यसबेला न्यौपानेले नै टोली केबल डक्ट टनेलको मुखमा पुगेको जानकारी दिएका थिए।

त्यसपछि सुरुङभित्रको अवरोध हटाउने, पानी निकाल्ने र पावरहाउसतर्फ पहुँच बनाउने कामलाई तीव्र पारिएको थियो। नेपाल विद्युत् प्राधिकरणले पनि चारवटा एक्स्काभेटर परिचालन गरी ड्रिलिङ तथा उत्खननबाट सुरुङ प्रवेशमार्ग खोल्ने, पानी र डेब्रिज हटाउने काम अघि बढाइएको जनाएको थियो। पावरहाउस निर्माणमा प्रत्यक्ष संलग्न विज्ञहरूसँग समेत छलफल गरी उद्धार कार्ययोजना बनाइएको थियो।

यसअघि सुरुङको प्रवेशमार्गमा ठूला ढुंगा भेटिएपछि तिनलाई विस्फोटमार्फत हटाउने र पानी निकासका लागि गुरुत्वाकर्षणमा आधारित निकास प्रणाली प्रयोग गर्ने तयारी गरिएको थियो। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा समेत अवरोध आएको थियो।

त्यसक्रममा अहिले सातवटा ठूला ढुंगा विस्फोट गरी हटाउन सफल हुनु उद्धार टोलीका लागि महत्वपूर्ण उपलब्धि बनेको छ। अब मुख्य चुनौती विस्फोटबाट निस्किएको ढुंगा, लेदो र अन्य डेब्रिजलाई सुरुङबाट बाहिर निकाल्दै सुरक्षित रूपमा अगाडि बढ्नु हो।

माथिल्लो माथिल्लो त्रिशूली-३ ‘ए’मा बाढीपहिरोपछि ४२ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेको नेपाल विद्युत् प्राधिकरणको पछिल्लो विवरण छ। उनीहरू भूमिगत पावरहाउस क्षेत्रमा रहेको आशंकाका बीच उद्धार टोलीले पावरहाउससम्म पुग्ने प्रयासलाई प्राथमिकतामा राखेको छ।

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा यसअघि एउटै प्रवेशमार्गमा निर्भर नहुने गरी विभिन्न प्राविधिक विकल्पबारे समेत छलफल भएको थियो। सुरुङ विशेषज्ञ श्रीराम न्यौपानेले स्थलगत अध्ययनपछि केबल डक्ट टनेलतर्फको अवरोध हटाउने, टेलरेसतर्फबाट वैकल्पिक पहुँच बनाउने तथा नयाँ सुरुङमार्फत अर्को बिन्दुमा पुग्ने गरी चारवटा विकल्पसमेत अघि सारेका थिए।

तर अहिलेको अवस्थामा उद्धार टोलीले मुख्यतः केबल डक्ट टनेलतर्फ बनाइएको पहुँचमार्गलाई सफा गर्दै पावरहाउससम्म पुग्ने बाटोलाई अघि बढाइरहेको छ। सात ठूला ढुंगा हटिसकेपछि ह्विल लोडर र मिनी एक्स्काभेटरमार्फत लेदो तथा डेब्रिज हटाउने काम सुरु हुने भएकाले उद्धार अभियानले अब सुरुङभित्रको दूरी छोट्याउने चरणमा प्रवेश गरेको छ।

न्यौपानेको पछिल्लो अपडेटले उद्धार अभियानमा अर्को महत्वपूर्ण प्रश्न पनि स्पष्ट गरेको छ— पावरहाउससम्म पुग्न अब कति बाँकी छ? उनको भनाइअनुसार करिब १६० मिटर सुरुङ सफा गर्न बाँकी छ। त्यसपछि मात्रै पावरहाउसमा पुगेर त्यहाँको वास्तविक अवस्था बुझ्न सकिनेछ।

एक साताभन्दा बढी समयदेखि जारी खोज तथा उद्धार अभियानमा हरेक दिनको प्रगति सम्पर्कविहीन कर्मचारी तथा कामदारका परिवारका लागि आशाको विषय बनेको छ। अहिले सात ठूला अवरोध हटिसकेको र पावरहाउससम्मको दूरी १६० मिटरमा सीमित रहेको जानकारीले उद्धार अभियानलाई थप आशावादी बनाएको छ।

अबको निर्णायक काम भनेको बाँकी १६० मिटर सुरुङलाई जतिसक्दो छिटो, सुरक्षित र प्रभावकारी रूपमा सफा गर्दै पावरहाउससम्म पुग्नु हो।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १७:००:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

भर्खरै