मस्याङ्दी जलविद्युत् केन्द्रको मर्मत सम्भार धमाधम, फागुन २२ देखि पुनः सञ्चालनमा आउने
जलसरोकार
आँबुखैरेनी : तनहुँको आँबुखैरेनीमा अवस्थित ६९ मेगावाट क्षमताको मस्याङ्दी जलविद्युत् केन्द्रमा व्यापक मर्मतसम्भार कार्य सुरु गरिएको छ। बाँध, सुरुङ तथा पावरहाउस लगायतका मुख्य संरचनामा देखिएका प्राविधिक समस्या समाधान गर्न गत फागुन २ गतेदेखि २२ दिनका लागि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका कर्मचारी शैलेन्द्र भट्टका अनुसार बाँध क्षेत्रमा अत्यधिक बालुवा थुप्रिनुका साथै मुख्य गेटहरू जीर्ण अवस्थामा पुग्न थालेपछि तत्काल मर्मत आवश्यक देखिएको थियो। “बाँधमा जमेको बालुवा सफा गर्नुपर्ने र गेट भत्किने अवस्थासम्म पुगेकाले संरचनागत सुधार थालिएको हो,” उनले भने । सुरुङ तथा अन्य सहायक संरचनामा पनि मर्मत आवश्यक देखिएकाले समग्र उत्पादन प्रणाली नै अस्थायी रूपमा बन्द गरिएको उनकाे भनाइ छ।
मर्मत कार्यका लागि कालीगण्डकीलगायतका विभिन्न जलविद्युत् आयोजनाबाट प्राविधिक जनशक्ति तथा मिस्त्री–मजदुर परिचालन गरिएको छ। कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको केन्द्रले जनाएको छ। उत्पादन बन्दबारे पूर्वसूचना जारी गरिसकिएको र आगामी फागुन २२ गतेदेखि पुनः विद्युत् उत्पादन सुचारु गर्ने लक्ष्य राखिएको छ।
वि.सं. २०४२ देखि सञ्चालनमा आएको मस्याङ्दी जलविद्युत् आयोजना नेपालको प्रारम्भिक ठूला जलविद्युत् आयोजनामध्ये एक हो। तीनवटा टर्वाइनमार्फत ६९ मेगावाट विद्युत् उत्पादन गर्दै आएको यस आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। लामो समयदेखि सञ्चालनमा रहेको आयोजना भएकाले समय–समयमा संरचनागत मर्मत तथा स्तरोन्नति आवश्यक पर्ने प्राविधिकहरू बताउँछन्।
केन्द्रका अधिकारीहरूका अनुसार मर्मतसम्भार सम्पन्न भएपछि उत्पादन क्षमता स्थिर हुने, संरचनागत जोखिम न्यून हुने तथा दीर्घकालीन सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ। नियमित मर्मत र संरचनागत सुधारले आयोजनाको आयु लम्ब्याउने र राष्ट्रिय ऊर्जा आपूर्तिमा निरन्तरता कायम राख्ने विश्वास व्यक्त गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२५.१२ गुणा आवेदन पाएको रिज लाइन इनर्जी: कत्तिको बलियो छ वित्तीय आधार?
-
रणनीतिक ऊर्जा परियोजनामा ठूलो निर्णय: बूढीगण्डकी अघि बढाउने मन्त्रिपरिषद्को संकेत
-
तीन प्रसारण लाइन आयोजनाले राष्ट्रिय वन प्रयोग गर्न पाउने, मन्त्रिपरिषद्काे बैठकबाट स्वीकृति
-
रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भोलि, २५.१२ गुणा बढी आवेदन
-
कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा
-
मौद्रिक नीतिको मध्यावधि समीक्षा : मूल्य स्थायित्व कायम राख्दै आर्थिक गतिविधि विस्तारमा जोड